काठमाण्डौ । जीवन रंगीन छ । कहिलेकाहीँ यही जीवनमा फिक्का अनुभूतिले मानिसलाई नमीठो बनाइदिन्छ । संघर्षमा उतारचढाव, आँधीहुरी, घामपानी त जीवनको नियम नै भइहाल्यो । सबैले सोचेको रंगीन जीवन सबैलाई प्राप्त हुँदैन, चाहेको सबै चिज प्राप्त हुँदैन, देखेका सबै सपनाहरु पूरा हुँदैनन् । बिहानीपछि दिन, दिनपछि रात यही नै कटु सत्य हो । जीवनको नियम पनि यस्तै हुन्छ । कहिले दुःख कहिले सुख, कहिले हाँसो, कहिले रोदन, सबै अप्ठ्यारा सप्ठ्यारालाई भोग्नुपर्छ, सबै क्षणहरुमा सम्हालिन सक्ने नै सफल बन्छ । जीवनलाई सन्तुलित बाटोमा डोहोर्याउने सीमित व्यक्तिहरु मात्रै सफलताको शिखर चढ्ने सपना पूरा गर्न सक्षम बन्छन् । अनि त्यस्ता सक्षम र सफल व्यक्तित्वहरुको जीवनगाथा, संघर्षका रोचक कथा नयाँ पुस्ताका लागि, सफलताको शिखर चुम्ने उत्कट चाहना बोकेकाहरुका लागि प्रेरक हुन्छ । नेपालमा पछिल्लो समय व्यवस्थापन पढ्नेहरुको संख्या ह्वात्तै बढेको छ र योसँगै बैंक तथा बित्तीय संस्था र प्रतिष्ठित औद्योगिक घरानाको सीइओ बन्ने सपना धेरै युवापुस्ताले सँगालेका पाइन्छ । अझ बैंकर त पछिल्लो समय नेपालको सन्दर्भमा ग्ल्यामर पेशा नै बनिदिएको छ । बैंकरहरुमा पनि सबै सफल छैनन् । नेपालका सीमित सफल बैंकरहरुमध्येमा एक उदाहरणीय बैंकर र सफल जीवन जिउने कलाका लागि एक प्रेरक व्यक्तित्व बैंकर देवेन्द्रप्रताप शाह हुन् । हाल नेपाल बैंक लिमीटेडको सीइओको रुपमा काम गरिरहेका र सो पदमा नियुक्ति भएको छोटो समयमै चमात्कारिक प्रगति गर्न सफल उनै शाहको जीवनका पानाहरु उनीसँगै बसेर पल्टायौं हामीले र भेटायौं रोचक मोड, घुम्ती र कुइँनेटोहरु । 

पिता वियोगको पीडा
आफ्ना अभिभावकसँगै रहेर जीवनका कखरा सिक्ने, उनीहरुको सामीप्यतामा रहेर हासखेल गर्ने उमेर हो बाल्यकाल । तर बैंकर देवेन्द्रप्रताप शाहले यही उमेरमा आफ्नो पिता गुमाउनुपर्यो । समकालीनहरु बुबाको काँध र ढाडमा चढेर रमाइलो बाल्यकाल बिताइरहँदा शाहले चाहि बुबालाई दागबत्ती दिनुपर्यो । बुबाविहीन बाल्यकालमा कतिपय बाल्य चाहनालाई दबाएर संघर्षपूर्ण जीवन जिउनुपर्यो । 

शाह धादिङको मैदी भन्ने गाविसमा जन्मिएका हुन् । त्यसबेला नेपालमा सडकहरुको विकास भएका थिएनन्, पृथ्वी राजमार्ग त पछि मात्र बनेको हो । धादिङबाट काठमाण्डौ आउन ४ दिनको पैदल यात्रा तय गर्नुपथ्र्यो । उनका बुबा लालजंग शाह सो बेला शाही नेपाली सेनाको मेजर थिए, आमा एक असल गृहिणी । ५ दाजुभाईमध्ये तेश्रो भाई शाहले बुबा मेजर भएका र मध्यम वर्गीय परिवार भए पनि राज खानदानसँग निकट भएकाले कखरा सिक्न घरकै वातावरण पर्याप्त भयो । कक्षा १ देखिको उनको पढाई चाहि काठमाण्डौको धोबीचौरस्थित एक स्कूलबाट सुरु भयो । सो बेला शाहको परिवार पक्नाजोलमा बस्थ्यो । सो स्कूलमा ६ कक्षासम्म पढे, त्यसपछि कक्षा ७ को पढाई काठमाण्डौकै जेपी हाइस्कूलबाट भयो । उनको ७ कक्षा सुरु नहुँदै बुबाको देहान्त भयो । पिताको रिक्तताले निकै सतायो शाह परिवारलाई, तर दाजुहरुको सहयोगमा देवेन्द्र प्रतापले सोही स्कूलबाट २०२३ सालमा एसएलसी उतीर्ण गरे द्वितीय श्रेणीमा । आमाले पनि छोराहरुको पढाईका लागि कम दुःख  गरिनन् । आफू अशिक्षित भए पनि गाउँमै बसेर शाहकी आमाले छोराहरुलाई उचित शिक्षादिक्षाका लागि भरथेग गर्ने अभिभारा पूरा गरिन् । देवेन्द्रप्रताप र उनका भाईहरुको पढाईको सम्पूर्ण अभिभारा जेठा विष्णप्रताप शाह र माइला दाई सुरेन्द्रप्रताप शाहले पूरा गरे । 

लहै लहैमा कमर्स
त्यसबेला देवेन्द्रप्रतापलाई ‘कुन विषयको स्कोप छ’ भनेर सल्लाह दिने कोही थिएन । आफू बसेको क्षेत्रका साथीभाई सबैले कमर्स पढेको देखेर उनले पनि साथीभाईको लहैलहैमा लागी महेन्द्ररत्न पब्लिक कलेजमा आइकम भर्ना भए । मानविकी भन्दा केही राम्रो पढाईको रुपमा कमर्सलाई बुझिन्थ्यो । साइन्स धेरै गाह्रो छ भनेर त्यता मन दिएनन् र साथीहरु धेरै कमर्र्स पढ्ने भएकोले उनले पनि यही विषयबाट कलेजको अध्ययन सुरु गरे । स्नातक पनि सोही विषयमा त्रिचन्द्र कलेजबाट गरे । स्नातकोत्तर पनि व्यवस्थापनबाटै गरेपछि उनले सन् १९८६ मा भारतबाट चार्टर एकाउण्टेसीको पढाई पूरा गरे । लहै लहैमा लागेर सुरु गरेको पढाईले नै अहिले देवेन्द्रप्रतापलाई एउटा उचो परिचय दिएको छ । 

स्नातकपछि जागिर
स्नातक गरेलगत्तै कृषि विकास बैंकमा खुलेको जागिरको अवसर शाहले फुत्काएनन् । उनी सो बैंकको सेक्सन अफिसरमा पास भए र बैकिङ करिअर सुरु भयो । सो बेला सरकारको सेक्सन अफिसर तहको तलब मासिक ४ सय रुपैयाँ थियो, तर कृषि विकास बैंकमा सेक्सन अफिसरको तलब चाहि ५ सय ५० रुपैयाँ थियो । कृषि विकास बैंकको आकर्षक तलबकै कारण शाह बैकिङ करिअरतर्फ आकर्षित भए । त्यसपछि दिलोज्यान दिएर काम गरेका शाह आफ्ना सहकर्मी भन्दा पनि छिटो–छिटो बढूवा हुँदै कर्मचारीको रुपमा कृषि विकास बैंकमा ४५ वर्षको उमेरसम्म र नेतृत्वमा रहेर थप ५ वर्षसम्म काम गर्ने मौका पाए । 

बुबाको सपना अधूरै
बुबा लालजंगको सपना देवेन्द्रप्रतापलाई डाक्टर बनाउने थियो । तर देखिएका सबै सपना पूरा हुँदैनन्, उनको जीवनमा पनि यही कुरा लागू भयो । छोरालाई डाक्टर बनाउने सपना देखेका लालजंगले नै अल्पायुमै अनन्त यात्रामा जानुपर्यो । देवेन्द्रप्रतापको करिअरले बुबाको सपना भन्दा फरक करिअरको मोड लियो । देवेन्द्र प्रतापलाई आफ्ना बुबा अझै केही वर्ष बाँचेका भए आफू डाक्टर बन्थे भन्ने अझै लाग्छ । बुबाले देखेको सपना झै डाक्टर नै नबने पनि कमर्स पढेर बैकिङ करिअरमा सबैभन्दा ठूलो पदमा पुगेकोमा देवेन्द्रप्रताप सन्तुष्ट नै छन् । ‘हाम्रो परिवारमा मेरो भिनाजू वीरमा डाक्टर हुनुहुन्छ ।’ उनले भने–‘बुबाले सोंचेजस्तो हामी छोराहरु नभए पनि हाम्रो परिवारको सदस्य डाक्टर हुनुभयो, बुबाले कतैबाट हेर्दै हुनुभएको भए खुशी नै हुनुहोला ।’ अझै पनि डाक्टर बन्नुपर्छ र दुखी गरीबको सेवा गर्नुपर्छ भनी आफ्ना बुबाले बाल्यकालमा भनेका कुरा देवेन्द्रप्रतापको सम्झनामा ताजै छ । 

सबैभन्दा खुशी र दुःखको क्षण
जीवनमा उतारचढाव भइरहन्छ, यो नियम नै हो । देवेन्द्रप्रताप शाहले समेत जीवनमा यस्ता कुरा भोगे । उथलपुथल ल्याउने खालका ठूला उतारचढाव चाहि उनले भोग्नुपरेन । विद्यार्थी जीवनसम्म उनलाई पैसाको अभावले सताइरह्यो । बेखर्ची भएर हिँड्नुपरेका धेरै तीता स्मरणहरु अहिले पनि उनको मानसपटलमा फिल्मी रिल झै घुमिरहन्छ । बीकम पढुञ्जेल पैसाको चरम समस्या भएका केही अति तीता क्षण समेत उनले भोगे । गाउँबाट पैसा आउन ढिला हुँदा घरबेटीको गाली समेत धेरै खाएका थुप्रै अनुभव उनीसँग छन् । आर्थिक अभावकै कारण विद्यार्थी जीवनमा चाहेजस्तो लुगा लगाउन नपाउने समस्या पनि उनले भोगे । गुजेश्वरीको एउटा घर थियो, जहाँ गाउँबाट पैसा पठाइन्थ्यो, त्यो घरमा कयौं दिन धाउँदा धाउँदा समेत रित्तो हात फर्किनपुरेका थुप्रै दिन उनी अहिले पनि सम्झिन्छन । उनी खासै खर्चालू पनि थिएनन् । बीकम उतीर्ण गरेलगत्तै कृषि विकास बैंकको जागिर खाएपछि त उनलाई पैसाको खास समस्या परेन । गाउँमा पनि उनले त्यति धेरै दुःख भोग्नुपरेन । मेजरको मध्यमवर्गीय परिवारमा खान, लाउन समस्या थिएन । त्यसबेला गाउँमा शासक झै भएर बसेका शाह परिवारका सदस्यले दुःख पाउने भन्ने प्रसंगै थिएन । तर देवेन्द्र आफूले पाएको दुःखलाई सामान्य मान्छन्, मानिसले खान नै नपाउने अभाव समेत झेलेका कुरा सुन्दा आफूले भोगेको दुःख केही होइन भन्ने लाग्छ उनलाई । ‘तर मेरै तुलनामा चाहि निकै दुःख पाइयो ।’–उनले थपे । उनी जीवनमै अहिलेसम्म सबैभन्दा बढी पिता बित्दा रोए । कयौं दिनसम्म आँसु थामिएनन् । उनले जीवनमा हालसम्म सबैभन्दा दुःख र पीडाको अनुभूत गरेको क्षण पनि त्यही थियो । उपचारको क्रममा उनका पिताको कान्ति अस्पतालमा निधन भएको थियो । 

उनले चार्टर एकाउण्टेसीको पढाई सक्ने क्रममा सम्झनालायक दुःख भोग्नपुर्यो । भारतको कोलाकाता र मद्रासमा गएर निकै कडा परिश्रममा मात्र सफलतापूर्वक पूरा हुने सिए कोर्सका कारण जीवनको पछिल्लो समय उनले निकै सास्ती भोग्नपुर्यो । सो विषयमा भारतमा पनि ५ प्रतिशत विद्यार्थी मात्र उतीर्ण हुन्थे । जाँच दिन तथा कोचिङ कक्षा लिनका लागि झोलातुम्बा बोकेर कोलकाता र मद्रास जाने क्रममा रातभरि उभिएर र कोचिएर रेलको यात्रा गर्नुपरेका क्षणहरु निकै कष्टपूर्ण थिए । 

पास हुँदा बुरुक्कै
देवेन्द्रप्रतापले सिए कोर्स गर्दा नेपालमा औंलामा गन्न सकिने सिए मात्र थिए । सिए पढेर आउनेबित्तिकै उसले बैंक तथा बित्तीय संस्थामा फस्ट क्लासको जागिर पाउने चलन थियो । देवेन्द्रप्रताप पनि आफूलाई समयअनुकुल परिमार्जन गर्न सिए कोर्समा जोइन भएका थिए । सो क्रममा कठीन परिस्थितिको समेत सामना गरी अथक मेहेनत गरेर उनले परीक्षा दिएका थिए । रिजल्ट हेर्नका लागि उनी झोलातुम्बा बोकेर आफ्नी पत्नीका साथमा मद्रास पुगेका थिए । उनलाई आफू फेल पो भएको छु कि भन्ने डरले एक्लै रिजल्टको लिस्ट भएको पेपर हेर्ने आँट आएन । पत्नीसँगै बसेर हेरेपछि जब उनले पास लिस्टमा आफ्नो सिम्बोल नम्बर भेटे त्यसपछि खुशीले बुरुक्कै उफ्रिए, पत्नी समेत तीनछक्क परिन् । ‘त्यो बेला म पास भएँ भन्दा पनि अब चाहि कष्टपूर्ण यात्रा र अनेक दुःख गरेर यहाँ आउनु नपर्ने भो भन्ने कुरालाई मलाई पुलकित बनाएको थियो ।’–शाहले थपे । 

रोमान्टिक जीवन
शाह तन्नेरी हुँदा अहिलेको जस्तो मोवाइल, फोन, इमेल, इन्टरनेट केही थिएन । कसैले कसैलाई मन परायो भने कि त आँट गरेर प्रेम भाव व्यक्त गर्नुपर्ने, कि त चिठी लेखेर दिनुपर्ने चलन थियो । देवेन्द्र प्रतापले पनि तन्नेरीमा थुप्रै प्रेमपत्रहरु लेख्न भ्याए, तर बिडम्बना तीमध्ये कुनै पनि प्रेमपत्र सम्बन्धितसम्म पुर्याउने आँट भने कहिल्यै जुटाउन सकेनन् । ‘कयौं प्रेमपत्र लेखियो, तर सम्बन्धित ठाउँमा पुगेनन् ।’ प्रष्टवक्ता शाहले विगत सम्झिएर पुलकित हुँदै भने–‘लेखेर के गर्नु, आफूलाई दिने आँट छैन ? प्रयोग गर्ने मान्छे पनि भएन ।’ सो बेला माया र प्रेम भाव अहिलेजस्तो खुलेआम भन्ने वातावरण थिएन । कसैले भनिहाले पनि त्यसलाई समाजले असभ्यको बिल्ला भिराइदिन्थ्यो । कसैसँग प्रेम भाव झल्किए, कोही देख्नेबित्तिकै मनमा काउकुती लाग्ने परिस्थिति सिर्जना भए पनि ती भावनालाई उनले प्रेमपत्रमा लेखे र थन्क्याएर राख्न बाध्य भए । केही समयअघि उनको यौवनअवस्थामा कार्यान्वयन नभएका तिनै प्रेम पत्रलाई केही परिमार्जन गरी कथाको रुप दिई शाहले कथासंग्रह नै प्रकाशन गरेका छन् । 

उनले आफ्नो तन्नेरी अवस्थामा कोही कसैबाट ‘लभलेटर’ चाहि पाएनन् । सायद उनलाई मन पराउनेको हकमा समेत उनीजस्तै प्रेमभाव व्यक्त गर्न नसक्ने, लजाउने समस्या थियो । आफ्ना साथीभाईबाट कसै–कसैले आफूलाई मन पराएको खबरहरु चाहि उनी सुन्थे । सुनिएका खबरसँग सम्बन्धित पात्रमध्ये कतिपय उनलाई पनि मन पथ्र्यो, कतिपयप्रति चाहि खासै चासो हुँदैन थियो । दुवैले मन पराउँदा समेत कुरा नहुने, भेट्ने समय नहुने, भेट्ने उपयुक्त ठाउँ नहुने र वार्तालापको लागि उपयुक्त माध्यम नहुने समस्याले लभ गर्न चाहेर पनि उनलेसकेनन् । ‘कसैलाई मन पराउँदा पराउँदै पनि वर्षौ भेट नहुने परिस्थिति समेत थियो ।’–उनले भने । प्रेम प्रसंगका कुरा गरिरहँदा देवेन्द्रप्रतापले समेत मन पराएकी एक युवतीलाई सम्झिए । ती युवतीसँग कलेज लाइफपछि केही महिनाअघि उनको करिब ३० वर्षको अन्तरमा काठमाण्डौकै कुनै पार्कमा भेट भएको थियो । ती युवतीलाई यौवन अवस्थामा(कलेज पढ्दा) देवेन्द्रप्रताप पनि मन पराउथे र तिनले पनि मन पराउँछिन भन्ने लाग्थ्यो । तर दुवैबीच एकअर्काको भावना साटासाट हुने अवसर नै जुरेन । दुवैको जीवन आ–आफ्नै दिशातर्फ मोडियो । तर जब ३० वर्षको अन्तरालमा तन्नेरी अवस्थामा मन पराएकी आफ्नी सपनाकी प्रेमिकालाई पार्कमा संयोगवश भेट्दा देवेन्द्रप्रताप झस्किए । झस्काउने कारण थियो उनकी प्रेमिकाको रुप । ‘केही महिनाअघि उनलाई पार्कमा भेटेँ, बिडम्बना ऊ त बिधवा पो भइसकेकी रहिछ ।’ त्यसपछि दुवैका आँखा रसाए, दुवै फर्किए विगतमा । मौनता तोड्दै ३० वर्षपछिको भेटमा बिधवा(एकल महिला)को भेषमा देखिएकी शाहकी प्रेमिकाले बल्ल मुख खोलिन्–‘म तिमीलाई मन पराउँथे । मेरो मनलाई तिमीले बुझेनौ । त्यसबेला तिमीले कुरा बुझेको भए आज हामी सँगै हुन्थ्यौं होला, मेरो यस्तो हविगत हुने थिएन होला । देवेन तिमीले मलाई धोका दियौं नि ।’ शाहलाई चाहि यो धोका लाग्दैन । धोका भन्ने शब्द उनले समेत मन पराएकी प्रेमिकाले जिस्किएर पो प्रयोग गरेकी हुन् कि भन्ने लाग्छ उनलाई । ‘तर उनले ३० वर्षपछि आफ्नो मनको कुरा खोलेकी थिइन ।’ उनले थपे–‘अहिले पनि पारिवारिक जमघटहरुमा कहिलेकाही उनीसँग भेट हुन्छ ।’ 

कलेज पढ्दा देवेन्द्रप्रताप जुन घरमा डेरा बस्थे, त्यही बेला उनीसँग चिनजान भएको थियो । ‘सामान्य कुराकानी हुन्थ्यो, हास्थ्यौं, जिस्किन्थ्यौं ।’ उनले सम्झिए विगत र भने–‘तर एक अर्कालाई मन पराउने कुरा कहिल्यै व्यक्त भएन, कसैले भनेन् ।’ उनको अनुभवमा अन्य विषयमा डाङडुङ बोल्न सके पनि आफ्नै प्रेमको मामलामा भने जस्तोसुकै आटीलाई पनि बोल्न गाह्रो हुने रहेछ । 

बैंकमै लभ


कृषि विकास बैंकको  सेक्सन अफिसरमा जागिर सुरु गरेपछि देवेन्द्रप्रताप शाहको बैंकमै सहकर्मीको रुपमा ईश्वरी कार्कीसँग भेट भयो । कार्की समेत बैंकमै सेक्सन अफिसरकै रुपमा काम गर्थिन । मन परापर भयो, भावना साटासाट भयो । करिब एकवर्ष शाह कार्कीसँगको अफेयरमा रहे । सो क्रममा एउटै अफिस भएको हिसाबले कहिलेकाही कार्यालय नै डेटिङस्थल जस्तो बनिदियो, व्यस्तताका कारण अन्यत्र डेटिङ जाने समय उति धेरै हुन्न थियो । त्यसपछि दुवै परिवारमा कुरा पुर्याएर धूमधामका साथ मागी विवाह भयो । काममा दिलोज्यान दिने बानी भएका कारण समेत शाहले त्यसपछि अरुतिर आँखा लगाएनन् । कार्कीसँगको सुन्दर जीवनको सुरुवात भयो । दुईजना रहरलाग्दा छोराहरु जन्मिए र त्यसैमा आफूलाई खुशी राख्दै उनी सफलताको सिढी चढ्दै गए, पत्नी ईश्वरीले पनि उनलाई  साथ दिंदै गइन । 

हाल शाहका दुई छोरामध्ये जेठो क्यानडास्थित अक्सफोर्ड युनभर्सिटीबाट फाइनान्सियल इकोनोमिक्समा मास्टर डिग्री गरी हाल क्यानडाभरिकै प्राइभेट र पब्लिक सेक्टरको रिटायरमेन्टको सिस्टम हेण्डल गर्ने संस्था क्यानडा पेन्सन क्याम्प इन्भेष्टमेन्ट बोर्डमा कार्यरत छन् भने कान्छो छोराले हालै युनभरसिटी अफ वाटर लुबाट सफ्टवेयर इञ्जिनियरिङ कोर्स पूरा गरी क्यालिफोर्नियास्थित फेसबुकमा काम गर्ने अवसर पाएका छन् । दुवै छोराको प्रगतिबाट शाह दम्पत्ति निकै खुशी छन् ।

सफलताको सूत्र
देवेन्द्रप्रताप शाहको सफलताको एउटै सूत्र हो, समय र परिस्थति अनुसार उनले आफूलाई अपडेट गर्दै लैजानु । सायद यसैको परिणाम हुनुपर्छ सफलतापूर्वक कृषि विकास बैंकको करिअर विकास गरेका उनले त्यहाँ जागिर छाडेलगत्तै समस्याग्रस्त बनेको नेपाल बैंक लिमीटेडको नेतृत्व हाँक्ने सुनौलो अवसर प्राप्त गरे । धेरैले उनलाई नेतृत्वमा आउँदा ‘काम गर्न सक्दैन, बैंक अझ डूबाउने भो’ भन्नेजस्ता फतूर पनि लगाउन भ्याए । तर बैंकिङ क्षेत्रको लामो अनुभव, दृढ संकल्प र कडा मिहिनेतका पर्यायवाची शाहले बैंकको नेतृत्व लिएको केही महिनामै चमात्कारिक सुधार गरिदिएका छन् । आफूलाई प्रविधि, पढाई र पछिल्लो समयको ट्रेण्ड अनुसार परिमार्जन गर्नसक्ने क्षमताकै कारण नेपाल बैंकको नेतृत्वमा उनी खरो उत्रिइरहेका छन् । 

कृषि विकास बैंकमा हुँदा समेत उनले पहिलोपटक त्यहाँ कम्प्युटराइज प्रणालीको सुरुवात गरेका थिए । तर पछिल्लो समय कृषि विकास बैंकले अन्य निजी बैंकहरुको रफ्तारमा आफूलाई प्रतिस्पर्धी बनाउन सकेन र प्रविधिमा निकै पछाडि पर्यो । तर प्रविधि भित्र्याउने नेपालको पहिलो बैंकको रुपमा कृषि विकास बैंकको इतिहास बनाउने पहिलो श्रेय नै उनलाई जान्छ । 
आफूलाई अपग्रेड गदैै लगेकै कारण डूब्न लागेको नेपाल बैंक लिमीटेडलाई उनले उच्च नाफाको बाटोमा पुर्याएका छन् । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा मात्रै उनको प्रयास सफल भएकै कारण नेपाल बैंक लिमीटेडले १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । बैंकमा अन्य सुधारका लागि समेत उनले आक्रामक योजना अगाडि बढाएका छन् । २०७१ चैतसम्मा ४ः५८ मा रहेको क्यापिटल एडिक्वेसी(पूँजी कोषको  अनुपात)लाई ९ पुर्याएका छन् । यो अंक १० पुर्याउनुपर्ने झिनौ चुनौति मात्र बाँकी छ अब । शाह नेतृत्वमा आउनुभन्दा अघि बैंक ३ अर्ब लसमा थियो । तर उनले चालु आबको दोश्रो त्रैमासमै १ अर्ब बढी खूद नाफा आर्जन गरेर आफ्नो क्षमता  देखाइदिएका छन् । बैंकमा पूरा सुधार अझै भएको छैन । ४ वर्षे कार्यकालका लागि आएका उनले सुधारका अन्य थुप्रै एजेण्डाहरु पाइपलाइनमा राखेका छन् । उनी आउनुअघि ५६ प्रतिशसम्म एनपीए पुगेको थियो । बैंकको सेवा बिस्तारमा भन्दा ऋण असूलीमा मात्र ध्यान दिंदा र एनपीए घटाउन मात्र अघिल्लो व्यवस्थापन र अन्य नियमनकारी निकायले ध्यान दिंदा बैंकले भनेजस्तो प्रगति गर्न नसकेको उनको ठम्याई छ । आफ्नो व्यवस्थापनका कारण ३५ करोड भन्दा बढी ब्याज आम्दानी बढेको र ९ करोड जति ब्याज खर्च कम भएको उनले बताए । बैंकको सीडी रेसियो ६० प्रतिशत क्रस गरेको छ । 

उनको बुझाईमा नेपाल बैंकमा व्यवसायिक जनशक्तिहरुको खाँचो छैन, तर तिनीहरुको सही परिचालन आवश्यक छ । उनले नेपाल बैंकमा रहेको न्यूटल र पोमोरी नामका दुई सफ्टवेयरका समस्या समेत समाधान गरेका छन् । टेक्नोलोजीको समस्या समेत अब समाधान भएको छ । धेरैवटा टिम आएर काम गर्दा समेत उठाउन नसकेका पुराना कर्जाहरुको असूलीको अभियान नै चलाएका छन् र कर्जा असूली दर पनि उत्साहजनक छ । उनले आफू बैंकको नेतृत्वमा आएलगत्तै बैंक टिकाउका लागि आवश्यक स्थायी आधार व्यवसायलाई वृद्धि गर्नेतर्फ विशेष जोड दिएका छन् । ‘विजिनेश बढाएर नाफा बढाउनुपर्छ, त्यो दिगो हुन्छ ।’ शाहले भने–‘जग्गा बिक्री गरेर क्यापिटल बढाउने, खराब कर्जा असूली गरेर नाफा बढाउने कुरा अस्थायी मात्र हुन् ।’ उनी नाफा बढी देखाउनैका लागि जथाभावी ढंगले कर्जा प्रवाह गर्नुपर्छ भन्नेहरुको विरोधमा छन् । कतिपय बैंकका सीइओहरु आफ्ना जागिर टिकाउनैका लागि संचालक समितिलाई बढी नाफाको विवरण देखाउन दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पर्ने काम गर्न नहिचकिचाउने, तर आफू यस्तो प्रवृतिको विरोधी रहेको उनको स्पष्टोक्ति छ । 

विद्यार्थीलाई शाहको टिप्स
कुराको बिट मार्दै गर्दा सीइओ शाहले व्यवस्थापनका विद्यार्थीहरुका लागि सफल बन्ने, सीइओ हुने र कुनै पनि कम्पनीको नेतृत्वमा पुग्नका लागि केही टिप्स पनि छाडेका छन् । ‘पढ्न र काम गर्न अल्छी गर्नुहुँदैन, मेहेनती  बन्नुपर्छ, स्पष्ट लक्ष्य लिनुपर्छ ।’ उनले भने–‘सीइओ नै हुनुछ भने मेहेनत गर्ने, नयाँ नयाँ ट्रेण्डलाई बुझ्ने, त्यो अनुसार आफूलाई ढाल्न सक्नुपर्छ । एमबीए गर्ने बित्तिकै सीइओ भइन्न ।’ कुनै पनि विद्यार्थीले पढाई अलावा टेक्नोलोजी, परिवर्तित समयमा परिवर्तन भइरहेको व्यवस्थापकीय प्रणालीहरु, बिषयहरुमा आफूलाई ढाल्न सकेमा सीइओको जिम्मेवारी खोज्नै नपर्ने, बरु आफैँ पोल्टामा आइपुग्ने उनको दाबी छ । ‘म पनि एकैपटक सीइओ त भएको होइन नि, लामो अनुभव भयो, समय अनुसार आफूलाई परिवर्तन गर्न सकेँ ।’ उनले थपे–‘कृषि विकास बैंकमा जागिर खाँदा प्राय सबै विभागीय प्रमुखले मलाई तानातान गर्थे । म मेहेनती थिएँ, आफ्नो कामप्रति इमानदार थिएँ, कडा परिश्रम गर्थेँ, त्यही भएर सबैले मन पराउँथे ।’ उनले सीइओ बन्नैका लागि केही पढेर राजनीतिक पहुँच भए पुग्छ भनेर कसैले ठानेको भए त्यो भ्रम मात्र हुने पनि प्रष्ट्याए । ‘अरुतिरको नेतृत्वमा पुग्न राजनीतिक पहुँचले काम गर्ला, तर बैंक तथा बित्तीय क्षेत्रको सीइओ हुन क्षमता हुनैपर्छ ।’–कुराको बिट मार्दै उनले भने ।