काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीका लागि आगामी बैशाख ७ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ । 

धितोपत्र बोर्डले यो बैंकलाई १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासनका लागि चैत १७ गते स्वीकृति दिएको थियो । 

बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै बैशाख ७ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले ३५ दिनभित्र अर्थात जेठ १० गतेभित्र आवेदन दिन सक्ने बताएको छ । 

जनता बैंकसँग बिलयको सम्झौता गरेको यो बैंकले १ सय अंकित दरका कुल ८५ लाख १५ हजार ५ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

यो बैंकले हकप्रदका लागि बुक क्लोजको मिति गत फागुन १९ लाई तोकेको थियो । यसको अर्थ फागुन १८ भित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदको आवेदन भर्न पाउनेछन् । 

सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा नबील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक सेयरधनीले नक्सालस्थित बिक्री प्रबन्धकको मुख्य कार्यालय तथा देशभरका सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखा कार्यालयमा गएर हकप्रदको आवेदन भर्न सक्ने बताइएको छ ।