काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित बोनस सेयरका लागि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले २४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ९४९.१९ रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार यो संस्थाको सेयर कारोबारमा आउनेछ ।

संस्था यही माघ १० गते आफ्नो तेस्रो वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटेलमा गर्दैछ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव कुल २५.२७ प्रतिशत लाभांश पारित हुनेछ। जसमा २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ । प्रस्तावित २४ प्रतिशत बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ ।

सभामा बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आज शुक्रबार पुस २५ गतेबाट बुक क्लोज गरेको छ । यसको अर्थ पुस २४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।