-भक्तराज रसाइली
काठमाडौ । नेपाल बैंक लिमिटेडको एफपीओमा भएको खेलोफड्को र चलखेलले बजार तात्तिएको छ ।
धितोपत्र बोर्डले हालै एक सर्कुलर जारी गर्दै उक्त बैंकको एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै बिक्री गरेको एफपीओमा गरेको बदमासीका कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथि गम्भीर खेलवाड भएको भन्दै आइन्दा यस्तो नगर्न भनी सचेत गराएको छ ।
बोर्डको 'सफ्ट कारबाही'लाई स्वीकार गरी सुध्रिएर अगाडि बढ्नुको साटो मर्चेन्ट बैंकरहरु सेयर माफियासँग मिलेर नियामकमाथि नै चौतर्फी दवाब सिर्जना गर्दै कृत्रिम बजार खडा गरी नेपाल बैंकको आफूले सकारेको एफपीओ अझै पनि ठूलो भोल्युममा एफपीओ मूल्यभन्दा केही सस्तो दरमा भित्रभित्रै बिक्री गरिरहेका रहस्य खुलेको छ ।
सेयर माफियासँग मिलेर कारबाहीमा परेका मर्चेन्ट बैंकरहरुले धितोपत्र बोर्डलाई यो विषयमा नरम र लचिलो बनिदिन लिखित आग्रह गर्दै पत्र पठाएका बोर्डस्थित उच्च स्रोतले जानकारी दिएको छ । सो पत्रको बोधार्थ नेपाल स्टक एक्सचेञ्जलाई समेत दिइएको छ । धितोपत्र बोर्र्डले सचेत गराउँदा गराउँदै लिखित रुपमै कृत्रिम बजारमार्फत सेयर सल्टाउने बिषयमा नरम बनिदिन मर्चेन्ट बैंकरले आग्रह गरेपछि नेपालको सेयर बजारमा कुन हदसम्म चलखेल र खेलोफड्को हुन्छ भन्ने देखिएको छ ।
बुटवल पावर कम्पनीको एफपीओको नजिर पेश गर्दै मर्चेन्ट बैंकरहरुले कारबाहीबाट बच्न र आफूले सकारेको सबै कित्ता सेयर सल्टाउन तीव्र चलखेल गरिरहेका छन् । यो बिषयमा बजारमा सेयरका माफिया, ब्रोकर र नियामकहरुबीच निक्कै चर्काचर्की र घम्साघम्सी परिरहेको उच्च स्रोतले बताएको छ ।
बुटवल पावर कम्पनीको पनि कृत्रिम बजार खडा गरेर नै नबिकेको सेयर बिक्री गरेकोमा सो बेला नियामक नेपाल धितोपत्र बोर्ड गुपचुप बसेको थियो । तर, यस पटक भने लगानीकर्ताको हितका लागि बोर्डले राम्रो कदम चालेको एक विज्ञ बताउँछन् । तर, माफियाहरुले भने त्यही बिषयलाई नजिर बनाई नेपाल बैंकको एफपीओमा समेत बोर्डले आँखा चिम्लिदिनुपर्ने माग गरिरहेका छन् ।
अन्डरराईटरले सोही नजिरकै फाईदा उठाउँदै नेपाल बैंक लिमिटेडको सेयर सल्टाउन नेप्सेलाई बाईपास गर्दै निर्धारित मूल्यभन्दा सस्तो मूल्यमा नै बिक्री गरिरहेका तथ्य समेत खुल्न आएको छ । र, अहिले त्यही नजिरका आधारमा मर्चेन्ट बैंकरलाई उन्मुक्ति दिनुपर्छ भन्ने माफियाहरुको सक्रियता बढेको बताईन्छ । यसका केही करोडको खेल भइरहेको उच्च स्रोत दाबी गर्छ ।
यता, तेस्रो(कृत्रिम वा नक्कली) बजारबाट नेपालको बैंकको सेयर खरिद गरेकाहरुले पनि बलियो लबिङ गर्दै दिनहुँजसो सेबोन र नेप्से धाउने क्रम सुरु गरेका छन् । एकातिर मर्चेन्ट बैंकर र सेयर माफियाको दवाब परिरहेको छ भने अर्कोतर्फ कृत्रिम बजारबाट सेयर खरीद गर्नेहरु समेत सुनियोजित रुपमै दवाब सिर्जना गर्न मैदानमा उत्रिएका छन् ।
अन्डरराईटरको क्षमताभन्दा बढी भएकै कारण आफूले सकार्न नसकेर ठूल्ठूला सेयर खेलाडी, ब्रोकर र अन्य व्यक्तिहरुलाई नेपाल बैंक लिमिटेडको सेयर लाखौं लाख भोल्यूममा तेस्रो बजार खडा गरी खरिदबिक्री गरेको स्रोतले बिजशालालाई जानकारी दिएको छ ।
एउटा अन्डरराईटरले अर्को अन्डरराईटरलाई सस्तो मूल्यमै बिक्री गरेको प्रति रुष्ट हुँदै यस किसिमको चलखेलले नेप्से नै नचाहिने नजिर स्थापित गर्न खोजिएको स्रोत बताउँछ । भन्यो-'यो सरासर गलत हो, फट्याई गर्ने मर्चेन्ट बैंकरहरुलाई कडा कारबाहीका लागि बोर्डले खुट्टा कमाउनु हुँदैन ।'
धितोपत्र बोर्डले यो बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।
सर्वसाधारणले दाबी गरेको बैंकको एफपीओ भने नेप्सेमा पार्सियल लिष्टिङ्ग गरिदिए राहत हुने दाबी एक लगानीकर्ता जगतबहादुर विश्वकर्माको रहेको छ ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago