काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ। 

आज दिनभरको कारोबारमा बजार लगभग १९२२ को विन्दुसम्म आएर पुनः मध्य ब्यान्डतर्फ नै फर्केको छ। यसबाट बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

त्यसैगरी म्याक्डीमा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। तर, हालसम्म काटिसकेको अवस्था भने होइन। 

हाल हिस्टोग्रामहरु सकारात्मक भए पनि छोटा–छोटा हुँदै गएका छन्। यसले बजार कमजोर बन्दै गएको बुझिन्छ। 

यदि आगामी दिनमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्छ भने त्यो बियरिस क्रसओभर हुन जान्छ। यसले बजारमा केही समय बिक्रीचाप पर्न सक्ने अनुमान लगाउन सकिन्छ। 

दैनिक चार्टमै आरएसआई धेरैपटक ६० को तहमा प्रतिरोधको सामना गरेर हाल ५१ को न्युट्रल जोनमा रहेको छ। अघिल्लोपटक आरएसआईले ४५ को तहमा सपोर्ट लिएको देखिन्छ। 

यी तीनवटै इन्डिकेटरलाई संयुक्त रुपमा मिलाएर विश्लेषण गर्दा जबसम्म बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिन्छ तबसम्म बजार मजबुत नै रहने देखिन्छ। यदि मध्य ब्यान्ड ब्रेक गरेर तल झरेमा भने बजार बोलिंगरको तल्लो ब्यान्डसम्म आउन सक्छ। त्यो अवस्थामा म्याक्डीमा पनि बियरिस क्रसओभर हुन जान्छ भने आरएसआई ओभर सोल्ड जोनसम्म आउन सक्छ। 

नोटः सेयर बजारमा लगानीजोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।