काठमाण्डौ । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् । कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो । 
 
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो । 
 
टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध यो सेवाको महसुल प्रति मिनेट ५० पैसा (करबाहेक) तोकिएको थियो । साथै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको थियो ।    
 
यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिन्छ ।