काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा भारि वृद्धि गरेपछि त्यसको नकारात्मक प्रभावले बजार उच्च अंकले घटेको छ । 

कारोबार खुलेको पहिलो २ घण्टा नबित्दै सेयर बजार मापक नेप्से इण्डेक्स ६२.५० अंकले घटेर २५९४ अंकमा आइपुगेको छ । बजारमा गिरावट जारी रहेको र यो क्रम निरन्तर रहे आज बजार बन्द हुँदासम्म बजार अझै उच्च अंकले घट्नसक्ने संभावना देखिन्छ । 

सेयर बजार र बैंकको ब्याजदरको सम्बन्ध सधैं विपरीत हुन्छ । ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ । यहीकारण आज बजारमा उच्च गिरावट देखिएको हो । 

दिउँसो १ बजेसम्म आशा लघुवित्तको मात्र मूल्य बढेको छ । त्यसबाहेक एउटा डिवेञ्चर तथा ३ वटा म्युचुअल फण्डको मूल्य मात्र बढेको छ । कारोबारमा आएका बाँकी सबै कम्पनीको मूल्य गिरावट देखिएको छ । 

मूल्यमा उच्च गिरावट भएका १० वटा कम्पनीमध्ये ५ वटा जलविद्युत कम्पनी मात्रै रहेका छन् । 

यो दिन विकास बैंक र वित्त समूहको उपसूचकमा भीषण गिरावट देखिएको छ । 

बैंकिङ समूह १.९४ प्रतिशतले घटिसकेको छ भने विकास बैंक र वित्त समूह क्रमशः ३.३३ र ४.३९ प्रतिशतले घटिसकेका छन् । 

होटल तथा पर्यटन समूहमा १.७१ प्रतिशतको गिरावट आउँदा बाँकी सबै समूहको उपसूचक २ प्रतिशत भन्दा बढीले घटिसकेको छ । 

दिउँसो १ बजेसम्म १ अर्ब ३३ करोड ५८ लाख ७७ हजार बराबरको मात्र सेयर कारोबार भएको छ ।