काठमाण्डौ । नेपाली राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। 

राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वगभर्नर भट्टराई यस्तो धारणा राखेका हुन्। ‘संसदीय समिति र सरकारले कर्जाको ब्याजदरको विषयलाई लिएर राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छ’, उनले भने। 

भट्टराई २०४६ सालदेखि बजारले नै ब्याजदर निर्धारण गर्ने व्यवस्था ल्याइएको पनि स्मरण गराए। ‘तर, अहिले सरकारले ब्याजदरका विषयमा राष्ट्र बैंकमाथि अनावश्यक हस्तक्षेप गरिरहेको छ’, उनले भने। 

विकास खर्च हुन नसक्नु र ठेकेदारहरुले भुक्तानी नपाउनेले तरलता अभाव भएको भट्टराईको भनाइ थियो। ‘चालु पुँजी कर्जामा कडाइ गर्नु राम्रो हो’, उनले भने, ‘घर–जग्गा र धितोपत्रमा चालु पुँजी कर्जा गएको छ।’