काठमाण्डौ । चौतर्फी आलोचनापछि नेपाल राष्ट्रबैंकले बैंकहरुको ब्याजदर युद्धमा हस्तक्षेप गर्दै तीन बुँदे निर्देशन जारी गरेको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालले एक सर्कुलर जारी गर्दै एकीकृत निर्देशन, २०७७ को इ.प्रा. निर्देशन नं १५/०७७ को बुँदा नम्बर १ मा तीनवटा उपबुँदा थप्दै बैंकहरुको ब्याजदर युद्धमा हस्तक्षेप गरेका हुन् । 

नयाँ निर्देशन र व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण र प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्नसक्नेछन् । 

यस्तै, संस्थागत मुद्दति निक्षेप(बोलकबोल समेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दूले कम हुनुपर्ने व्यवस्था गरिएको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई यी दुई खालको व्यवस्था २०७८ कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संसोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न र सोही मितिबाट लागू गर्न समेत निर्देशन दिएको छ । 

यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकाबाट समेत प्रकाशित गर्न भनिएको छ । 

केन्द्रीय बैंकको यो निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर युद्ध मत्थर हुने देखिएको छ । अघिल्लो महिनाको तुलनामा ४० प्रतिशतसम्म ब्याजदर बढाएका बैंकहरुले अब १० प्रतिशतले मात्र ब्याज बढाएर नयाँ दर सार्वजनिक गर्नुपर्नेछ । यो व्यवस्थाले निक्षेपको ब्याजदर बढेर १२ प्रतिशत नजिक पुगेको अवस्था अन्तको आशा गरिएको छ । 

यस्तै, नयाँ व्यवस्थापछि व्यक्तिगत मुद्दति निक्षेपमा भन्दा संस्थागतमा बढी ब्याज अफर गर्ने विकृति समेत अन्त हुनेछ ।