काठमाण्डौ । निक्षेपको ब्याजदर स्थिर राख्ने विषयमा लामो समयदेखि वाणिज्य बैंकहरुबीच हुँदै आएको भद्र सहमति भंग भएको छ। योसँगै असोज महिनामा अब बैंकहरुले आआफ्नो हिसाबले ब्याजदर तय गर्ने भएका छन्। 

नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले अघिल्लो महिना ब्याजदरको औसतमा १० प्रतिशत तल–माथि गरेर अर्को महिनाको ब्याजदर निर्धारण गर्न सक्छन्। सोही नियमलाई पालना गर्दै अब बैंकहरुले आआफ्नो ढंगले ब्याजदर निर्धारण गर्ने नेपाल बैंकर्स संघ (एनबीए)का उपाध्यक्ष सुनील केसीले बताए। 

असोज महिनाको ब्याजदर निर्धारणका लागि आज एनबीएमा बैठक बसेको थियो। ‘तर, बैठकमा बैंकहरुले यसअघिको जस्तो सबै बैंकको ब्याजदरमा एकरुपता वा स्थिर राख्ने विषयमा सहमत भएनन्’, उपाध्यक्ष केसीले भने, ‘त्यसैले अब बैंकहरुले राष्ट्र बैंकको नियमअनुसार नै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने भएका छन्।’

केसीका अनुसार लामो समयदेखि स्थिर राखेका बैंकहरुले अब मुद्दति निक्षेपको ब्याजदर घटाउन वा बढाउन दुवै गर्न सक्छन्। ‘अहिलेको अवस्थामा धेरैजसो बैंकले ब्याजदर बढाउने सम्भावना छ’, केसीले भने, ‘यसअघिको ब्याजदरमा १ प्रतिशतको विन्दुले बढ्न सक्छ।’

यसअघि बैंकहरुबीच लागतमात्रै बढेको तर निक्षेप नबढेको भन्दै लामो समयदेखि ब्याजदर स्थिर राख्ने निर्णयमा सहमत हुँदै आएका थिए। ‘आजको बैठकमा ब्याजदर स्थिर राख्ने विषयमा छलफल भएको थियो तर त्यसमा सहमति हुन सकेन’, केसीले भने। 

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपमा ९.०३ प्रतिशत र रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन्। यदि बैंकहरुले १ प्रतिशतको एकल विन्दुमा ब्याजदर बढाए भने व्यक्तिगत मुद्दति निक्षेपको १२.०३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.०३ प्रतिशत र रेमिट्यान्सको १३.०३ प्रतिशत पुग्नेछ।  

बैंकहरुले निक्षेपको ब्याजदर एक प्रतिशतको विन्दुले बढाएमा कर्जाको ब्याजदर पनि बढ्नेछ। 

राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले भोलि असोज महिनाको ब्याजदर सार्वजनिक गर्नेछन्। अब भोलि नै बैंकहरुले ब्याजदर घटाउँछन् कि बढाउँछन् भन्ने जानकारी हुनेछ। 

वाणिज्य बैंकहरुले आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने भएसँगै अब विकास बैंक र फाइनान्स कम्पनीहरुले सोहीअनुसार ब्याजदर निर्धारण सम्भावना रहेको छ।