काठमाण्डौ । लगानीकर्ताको मनोबल उकास्ने घटनाक्रमहरु अगाडि आउन नसक्दा यो साताको पहिलो दिनको बजार प्यानिक बनेको देखिएको छ । 

लामो समयदेखि खस्किएको लगानीकर्ताको मनोबल उकास्ने प्रयास नभएको र बैंक तथा वित्तीय संस्थाहरुको पछिकल्लो समय प्रकाशित आधार दर बढेसँगै ब्याजदर बढ्ने स्पष्ट संकेत मिलेपछि बजार थप प्यानिक देखिएको हो । 

पछिल्लो समय बैंकहरुमा तरलता समेत टाइट हुँदै गएको छ । यसले समेत लगानीयोग्य रकमको अभाव भई अवस्था जटिल बन्ने लगानीकर्ताहरुको विश्लेषण रहेको देखिन्छ । यस्तो विश्लेषण र कमजोर मनोबलले समेत बजारको अवस्था थप दयनीय बन्न थालेको हो । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आयो । यो दिन नेप्से परिसूचक ६.८८ अंकले घट्यो भने कारोबार रकम रु.१७ करोड ५५ लाखमा सीमित बन्न पुग्यो । यसले कमजोर बनिरहेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ नदिएको संकेत गर्दछ । बजारमा सेयर खरीद गर्नेभन्दा बिक्री गर्ने हाबी छन् भन्ने कुरा समेत यसले देखाउँछ । 

बजारका कतिपय विश्लेषकहरुले अहिलेकै यथास्थिति कायम रहेमा बजार तत्काल बढ्न नसक्ने बताइरहेका छन् । उनीहरुले भारतमा जस्तै नेपाल सरकारले पनि पूँजीबजारलाई प्राथमिकतामा राखेर यसमा समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । 'सरकारको भरपर्दो सम्बोधनबिना पूँजीबजारमा तत्कालको प्यानिक अवस्था हट्ने संकेत देखिन्न ।' विश्लेषकहरु भन्छन्-'दुईतिहाई सरकारका अगाडि तत्काल बजारलाई सम्बोधन गरी लगानीकर्तालाई डूब्नबाट बचाउने विकल्प मात्र बाँकी छ ।' 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा उच्च बिक्री चाप देखियो । परिणामस्वरुप सेन्सेटिभ इण्डेक्स १.६२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५३ अंकको गिरावट आयो । 

यो दिन बजारका प्राय सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह ८.०५ अंकले घटेको यो दिन विकास बैंक समूहमा १.५८ अंक, बित्त समूहमा २.३५ अंक, माइक्रोफाइनान्स समूहमा ४.१८ अंक, जीवन बिमा समूहमा १९.७७ अंक, निर्जीवन बिमा समूह ३१.६८ अंक, होटल समूह १५.३ अंक, जलविद्युत समूह २.५७ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.१ अंक, र अन्य समूह ११.१ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका ७ लाख ८४ हजार ७४० कित्ता सेयर १७ करोड ५५ लाख ४४ हजार ४७२ रुपैयाँमा किनबेच भएका छन् । 

सबैभन्दा बढी प्रभू बैंकले १ करोड ५२ लाख बढीको कारोबार गरेको छ । 

देवः विकास बैंकको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले ७९ लाख, नवील बैंकले ६० लाख, नेपाल बैंकले ५१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४८ लाख, लक्ष्मी बैंकले ४७ लाख, एनआइसी एशिया बैंकले ४२ लाख, रसुवागढी हाइड्रोले ४०लाख र नेपाल बंगलादेश बैंकले ४०लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले धेरै कमाए । यो म्युचुअल फण्ड स्किमको इकाई मूल्यमा ४.५२ प्रतिशतको बढोत्तरी भयो ।यस्तै, वरुण हाइड्रोपावरका लगानीकर्ताले ४.४० प्रतिशतले सम्पत्ति बढाए ।

मेगा बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । मेगा बैंकको  ५.४४ र आँखुखोलाको ५.२६ प्रतिशतले मूल्य घट्यो ।