काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिकसत्र २०२१/२२ का लागि दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो।

ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोककी दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन्। छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुवै विद्यार्थीले पठनपाठनका लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन्। जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्क, सबै परीक्षा र विश्वविद्यालय रजिस्ट्रेसन दर्ता शुल्क समावेश हुनेछन्।

छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै ढकालले भनिन्, ‘विश्वस्तरीय कलेजबाट छात्रवृत्ति पाएर सम्मानित हुन पाउँदा म साँच्चै खुसी छु। मजस्ता विद्यार्थीमा सम्भावना देखेकोले टीबीसीप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब म यो प्राप्त अवसरलाई सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्न चाहन्छु।’ 

त्यस्तै छात्रवृत्तिबाट सम्मानित अर्की विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यस्तो प्रख्यात अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन पाउँदा म निकै कृतज्ञ छु र यो प्राप्त अवसरको सदूपयोग गर्नेछु’, उनले भनिन्। 

कलेजकी कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले ओएचसीटी छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेकी छिन्। यसबारेमा उनले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिका लागि फन्ड प्राप्त गर्न पाउँदा खुसी छौँ। हामी हाम्रा पाठ्यक्रमहरुमार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौँ र आवेदनहरुको संख्या र गुणस्तरबाट प्रभावित पनि भएका छौँ। दावा लामा तामाङ र रोशना ढकाललाई हार्दिक बधाइ तथा पढाइमा सफलताको कामना गर्दछौँ।’