काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण अहिले निकै बढेको छ। जताततै सेयर बजारकै चर्चा चल्न थालेको छ। 

कोरोना महामारीका कारण अरु क्षेत्र खस्किए पनि सेयर बजार पनि उचाइमा पुगेको छ। प्राथमिक बजारदेखि दोस्रो बजारसम्म अहिले सेयर कारोबार गर्ने संख्या दिनदिनै बढ्दैछ। कारोबार थपिएसँगै ब्रोकर हाउसहरुमा पनि निकै भीडभाड देखिन थालेको छ। यद्यपि ब्रोकर हाउसको महत्वपूर्ण पाटोका रुपमा रहेको डिस्प्ले नखुल्दा लगानीकर्ताहरु रुष्ट देखिएको छ। 

ब्रोकर हाउसका डिस्प्लेमात्र होइन त्यहाँबाट प्रवाह हुने अन्य सेवाहरुबाट आमलगानीकर्ता सन्तुष्ट हुन सकिरहेका छैनन्। कतिपयले बढ्दो ब्रोकर सञ्चालक लगानीकर्तामत्रीभन्दा कमाउधन्दामा लागिरहेको आरोप लगाउने गरेका छन्। 

लगानीकर्ताहरुका यिनै गुनासाहरु र बजारमा चलिरहेको ब्रोकरलेस कारोबार विषयमा बिजशालाकर्मी अर्जुन तिमिल्सिनाब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीबीच भएको कुराकानीको सारसंक्षेप :

नेपाल स्टक एक्सचेन्जमा आन्तरिक रुपमा ब्रोकरलेस कारोबारको अवधारण विषयमा छलफल चलिरहेको सुनिएको छ। यसमा तपाइँ के भन्नुहुन्छ ?

– मैले बुझेअनुसार एकदमै विकसित देशहरुमा इक्विटी मार्केटमा सम्भव होला। खासगरी ब्रोकरहरु राफसाफ र जोखिम ब्यबस्थापनका लागि आवश्यक हो। आज हामी ब्रोकरहरुले कति जोखिम बहन गरेर काम गरेका छौँ, भोलि त्यो जोखिम कसले लिने ? ब्रोकरलेस कारोबारको कुरा कसरी आयो थाहा भएन। आधिकारिक धारणा हो भने हामीहरु पनि त्यसैअनुसार चल्ने हो। अहिले नै नेपालमा ब्रोकरलेस कारोबार सम्भव छैन।

लगानीकर्ताले समयमै भुक्तानी नपाएको भनेर गुनासो सुनिन्छ, खास के हो ? 

– धेरै कुरा प्राविधिक पनि छ। कहिलेकाहीँ चाहेर पनि भुक्तानी हुन सकेको छैन। जानाजानी हो भने त सोच्नुपर्छ। दिउँसो २ बजेपछि एनसीएचएलबाट पनि पैसा जाँदैन। खास के कारणले भुक्तानी भइरहेको छैन, त्यो पनि बुझ्नु पर्यो नि। समस्या प्राविधिक भयो भनेर हामीले आफ्नै टीएमएस ल्याउने कोसिस पनि गरेका छौँ। लगानिकर्ताको विवरण पूरा नभएर पनि हुन सक्छ। यो समस्या प्राविधिक तथा व्यवहारिक दुबै छ। यो घट्दै गएको छ र सुधार हुँदै गएको छ।

ब्रोकरले ल्याउने भनेको आफ्नै टीएमएसको विषय कहाँ पुग्यो ? के हुँदैछ ?

– हामीले ल्याउने प्रक्रियामा नै छौँ। एउटा कम्पनीसँग सम्झौता गरेका छौँ। अहिलेको टीएमएस ल्याउँदै गर्दा पनि हामीले नियामकलाई सचेत गराएका थियौँ। एपीआईको पोलिसी नियमाकबाट पास हुनै बाँकी छ तर हामी अगाडि बढेका छौँ। हामी अन्तर्राष्ट्रियस्तरको ब्रोकर बन्न चाहन्छौँ। सबैको सहयोग मिले आउँदो साउन १ बाट हामी हाम्रै टीएमएसबाट कारोबार गर्न चाहन्छौँ।

नियामकले ब्रोकर तथा बजार विकासका लागि गर्नैपर्ने काम के–के छन् ?

– जोखिम व्यवस्थापनको विषय मुख्य चुनौतीका रुपमा रहेको छ। उधारोमा सेयर किन्ने अहिलेको नेपालको जस्तो व्यवस्था संसारमा नै छैन। यो अन्त्य हुनुपर्यो कि मार्जिन ट्रेडिङको व्यवस्था हुनुपर्यो। विदेशमा खासगरी भारतमा पनि यस्तो छैन। त्यहाँ पावर अफ अटोनोमीको व्यवस्था छ। लगानीकर्ताले नै उधारो कारोबार नगर्ने हो भने धेरै समस्या हल हुन्छ। अहिले हामीले ल्याउने सिस्टमले जोखिम व्यवस्थापनको धेरै हदसम्म नियन्त्रण गर्छ। ब्रोकरहरुलाई अन्य विविध कामहरु पनि गर्न दिनुपर्यो जसले वान डोर सर्भिस हुन्छ। कारोबार बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ।

क्लोजआउटको विषय के हो ? लगानीकर्ताबाट धेरै गुनासो सुनिन्छ नि ?

– यो व्यवस्था अवैज्ञानिक छ। कुनै पनि विकल्प अपनाएर लगानीकर्तालाई सेयर दिनसकिएन भनेमात्रै क्लोजआउट मानेर २० प्रतिशत दिने भन्ने कुरा हो। पहिला अरु मेकानिजम जस्तै अक्सन मार्केट तथा सापट लिएर भए पनि सेयर दिन सक्ने व्यवस्था हुनुपर्छ। यो विकल्प नभए बल्ल क्लोजआउट पर्ने हो। जसरी हुन्छ पूर्ण राफसाफको व्यवस्था हुनुपर्यो। हाम्रोमा अहिलेसम्म पूर्ण राफसाफको व्यवस्था छैन। पूर्ण राफसाफमा जसरी पनि खरिदकर्ताले सेयर पाउँछ। अहिलेको व्यवस्था यस अर्थमा पनि वैज्ञानिक छैन कि सेयर किनेपछि घट्यो भने थपेर दिँदा त झन अव्यवहारिक भयो। अर्को पाटो हामी विदेशी लगानीकर्ता (एनआरएन) ल्याउने भन्छौँ। यस्ता विषयले विदेशी लगानीकर्ता बिच्किन पनि सक्छन।

सेयर शिक्षाको विषयमा के भइरहेको छ ?

– हामी नियममा व्यवस्था भएअनुसार  नाफाको १ प्रतिशत खर्च गर्नुपर्छ। धेरैभन्दा धेरै  लगानीकर्तामा प्रभावकारी हुने र पुग्ने गरी विभिन्न मिडियामार्फत सेयर शिक्षाका विषयमा  कार्यक्रम चलाइरहेका छौँ र चलाउँछौँ पनि।