– अनन्त्य सुन्दर

काठमाण्डौ । नीतिगत अस्थिरता, मौद्रिक नीति, ४–१२ को क्याप, बढ्दो ब्याजदर, अर्थतन्त्रको हालको अवस्थालगायतका कारणले गर्दा विगत केही महिनादेखि नेपालको सेयर बजार निरन्तर घट्दो क्रममा रहेको थियो। नेप्से परिसूचकमात्र नभएर कारोबार रकममा पनि भारी गिरावट आएको थियो। घट्दो बजारले लगानीकर्ता, मर्चेन्ट बैंकरदेखि ब्रोकरसम्मलाई पिरोलेको थियो।

केही दिनयता भने बजारमा सुधार आउन थालेको छ। दैनिक कारोबार रकम पनि बढ्दै गएको छ। 

घट्दो बजारमा नियामक निकायहरुबाट लगानीकर्ताको मनोबल उच्च बनाउनुका साथ लगानी गर्ने माहौल सिर्जना गर्न उचित कदम नचालिएको ब्रोकरहरुको गुनासो छ। बढ्दो बजारमा लगानीकर्तालाई लगानी गर्ने माहौल सिर्जना गर्न र घट्दो बजारमा लगानीकर्ताको सम्पत्ति जोगाउन ब्रोकरहरुले ठूलो भूमिका रहेको उनीहरु भनाइ छ। 

‘बढ्दो बजारमा विज्ञप्ति निकाल्न हतार गर्ने नियामकबाट घट्दो बजारलाई सम्बोधन गर्न एउटा शब्द पनि उच्चारण गरिएन। पुँजी बजारमा लगानीकर्ताहरुले ढुक्कका साथ लगानी गर्ने वातावरण सिर्जना गर्न धितोपत्र बोर्डले पहल गर्नुपर्दैन ?’, प्रश्न गर्दै एक ब्रोकर सञ्चालक भन्छन्, ‘ब्रोकरहरुलाई लगानीकर्ताले जति गाली गरे पनि घट्दो बजारमा होस् वा बढ्दो बजारमा, हामी सधैँ लगानीकर्ताका साथमा छौँ। तर नियामकहरुलाई भने कसलाई ब्रोकर लाइसेन्स दिने, कताबाट फाइदा लिने, कताबाट सेटिङ मिलाउन सकिन्छ भन्नेमात्र दाउ छन्।’

‘बजार विकास र विस्तारमा कसैको ध्यान छैन। हामीले बारम्बार हाम्रो कार्यक्षेत्रका साथै शाखा विस्तारको माग राख्दै आएका छौँ। तर, नियामक निकायहरुमा सबैको ध्यान ब्रोकर लाइसेन्समा नै छ’, ती सञ्चालकले भने, ‘त्यसैले नियामक निकायहरुमा बजारको हितभन्दा पनि आफ्नो हित सोच्ने व्यक्तिहरूको हाबी छ।’

‘मार्जिन कलले मार्केटलाई प्यानिक बनाएको अवस्थामा हामी ब्रोकरले अहम् भूमिका निर्वाह नगरेको भए आज बजार १६०० मा आउँथ्यो’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘बजारलाई अब पनि जोगाउन उचित पहल गरिएन भने लगानीकर्ता हारगुहारको अवस्था सिर्जना हुन्छ भनेर हामी अधिकांश ब्रोकरहरु बजारलाई बचाउनतर्फ लाग्यौँ। जसका कारणले बजारमा ४–५ अर्बको सेलिङ प्रेसर रोकियो।’

लगानीकर्तालाई ब्रोकरहरुले आफैँले लोन खोजिदिएर भए पनि बजारमा आउने प्यानिक सेल रोकेको ती ब्रोकर सञ्चालकको दाबी छ। ‘त्यतिमात्र नभएर ठूलो हिस्साको सेयर बिक्री आउँदा बजार प्यानिक हुन्छ भनेर खरिदकर्ता र बिक्रीकर्ता आफैँले खोजेर म्याचिङ गरेर कारोबारमा सहजीकरण पनि गरेको छौँ’, ती सञ्चालकले भने, ‘तर, बजार बचाउन अनेक प्रयास गर्दा पनि लगानीकर्तादेखि नियामकसम्म सबैले हामी ब्रोकरलाई नै खराब नजिरले हेरिन्छ।’