काठमाण्डौ । बिचौलिया प्रयोग गरी माफियासँगको साँठगाँठमा कमाउधन्दामा लिप्त बनेको गम्भीर आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्षले पैसाको चलखेलकै लागि ब्रोकर लाइसेन्स वितरणसम्बन्धी नियामावली परिवर्तन गरी आफ्नो हात माथि पर्ने गरी चलखेल गरेका भेटिएको छ । 

नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको मिलेमतो र प्रभावमा बोर्डका अध्यक्ष रमेश हमालले नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को क्षेत्राधिकार मिच्दै नियमावली नै संसोधन गरी चलखेल गरेको देखिएको हो । बोर्डले ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरेको थियो ।

धितोपत्र बोर्डको अध्यक्षमा हमाल आउनुअघि धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकर)को लाइसेन्स वितरणको अधिकांश काम नेप्सेले गर्नुपर्ने कानूनी व्यवस्था थियो । दोश्रो बजार सञ्चालक भएको नाताले नेप्सेले ब्रोकर लाइसेन्सका लागि आवेदन खोल्ने, परेका आवेदनहरुको छानबिन गर्ने, आवेदकहरुको योग्यता परीक्षण गर्ने, परीक्षा लिने र योग्य प्रमाणित हुनेहरुलाई आधार तथा कारणसहित लाइसेन्स वितरणका लागि नियामक धितोपत्र बोर्डमा सिफारिस गर्ने गथ्र्यो । 

यसको अर्थ ब्रोकर लाइसेन्स वितरणको अधिकार नेप्सेमा थियो । किनभने नेप्सेले कारण र आधारसहित गरेको सिफारिस नियामक बोर्डले स्वीकृत गर्नुको विकल्प हुन्थेन । तर, धितोपत्र बोर्डको अध्यक्ष भएर हमाल आएपछि ब्रोकर लाइसेन्स वितरणमा आर्थिक चलखेल गर्ने उद्देश्यले नेप्सेको भूमिकालाई कमजोर बनाई अधिकांश अधिकार नियामकसँग आउने गरी नियमावली नै संसोधन गरेका पाइएको हो । संसोधित नियमावलीमा परीक्षा नै नलिई धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरण गर्नेसम्मको व्यवस्था गरिएको थियो । 

हमालले गरेको चलखेलमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको समेत पूर्ण साथ रहेको स्रोत दाबी गर्छ । अर्थमन्त्रीको दवाबमै ब्रोकर वितरणसम्बन्धी तत्कालीन नियमावली नै संसोधन गर्नेसम्मको खेल भएको थियो । ‘यसपछाडिको उद्देश्य भनेकै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्दा मोटो रकम उठाउने भन्ने थियो ।’ स्रोतले बिजशालासँग भन्यो–‘सम्भावित ब्रोकरहरुबाट हमालले बिचौलिया प्रयोग गरी अर्थमन्त्रालयसम्म सेटिङ गर्नुपर्छ भनेर करोडौं पैसा उठाएका थिए ।’ 

हमालका दलालहरुलाई घूसबापत पैसा बुझाएका एक लगानीकर्ताले बिजशालासँग कुरा गर्दै भने–‘सुरुवातमा बजारमा राम्रो रवाफ देखाएर हमाल कमाउधन्दामा केन्द्रीत हुनुभयो । उहाँले आफू ७ करोड बढी तिरेर बोर्ड अध्यक्ष बनेको भन्दै लगानी त उठाउनै पर्यो नि भन्दै बिचौलियामार्फत पैसाको प्रस्ताव पठाउनु भएको थियो । हामीले त्यसबेला १ करोड बुझाएका थियौं ।’ 

कुरा क्रान्तिकारी, काम पैसामुखी
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशपछि सेबोन ब्रोकर लाइसेन्स वितरण गर्न लागिपरेको थियो । शर्माकै निर्देशनका आधारमा नेप्सेले ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि, ०७९’ समेत तयार पारेको छ । उक्त कार्यविधिमाथि अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरू (अर्थसचिव र राजस्व सचिव) बाट ‘ग्रिन सिग्नल’ नपाएपछि ब्रोकर लाइसेन्स वितरणको काम अघि बढ्न सकेको थिएन । यही समयमा धितोपत्र बोर्डले गुपचुप रूपमा नियमावली संशोधनको काम गरेको थियो । 
हमालले नेपालको पुँजीबजार विकासका लागि ठूलो र महत्वपूर्ण कदम भने पनि अन्तर्य भने रकम उठाउने नै थियो । उनले सो बेला अब तोकिएको समयमा तोकिएको मापदण्ड पूरा गरेका सबै आवेदनले ब्रोकर लाइसेन्स पाउने भएकाले हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरको सिन्डिकेट समाप्त भएको समेत उद्घोष गरेका थिए । 
नियमावलीमा अब हरेक आर्थिक वर्षको पहिलो महिनाभित्रै नयाँ लाइसेन्सका लागि इच्छुक कम्पनी (निजी र पब्लिक)हरूले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । आवेदन दिने मिति सकिएको ३५ दिनभित्र प्राप्त आवेदनमाथि मूल्यांकन गरेर लाइसेन्सका लागि नेप्सेले धितोपत्र बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको सोबेला हमालले बताए पनि नेप्सेको भूमिकालाई कमजोर बनाइएको विषय भने बाहिर आएको थिएन । 
संशोधित नियमावलीमा सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरको परिकल्पना गरिएको छ । सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ । नियमावलीमा स्टक डिलर (आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने तथा धितोपत्र दलाल, धितोपत्र प्रत्याभूति र योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्ने) का लागि न्यूनतम १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको प्रस्ताव गरिएको छ ।

सुरुवातको योजनाअनुसार हमालले १० वटा बैंक र १० वटा बाहिरका कम्पनी तथा समूहलाई सेयर ब्रोकर तथा स्टक व्यापारीको लाइसेन्स वितरण गर्न खोजेका थिए । पछिबाट त्यसलाई अझ वृहत बनाएर ५० वटा जति लाइसेन्स वितरण गर्ने योजना बनाइएको थियो । ‘२० वटा ठूला प्रस्तावित कम्पनीबाट राम्रो रकम उठाइएको थियो ।’ स्रोतले भन्यो–‘बाँकीबाट पनि पैसा उठाउने उद्देश्य थियो । तर, सर्वोच्च अदालतमा यस विषयमा मुद्धा परेपछि हमालको योजना तत्काल पूरा हुन सकेको थिएन ।’ 

धितोपत्र बोर्डले नेप्सेको क्षेत्राधिकार मिच्दै ब्रोकर लाइसेन्सको सम्पूर्ण अधिकार आफू मातहत ल्याएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा अझै पनि अदालतमा विचाराधीन अवस्थामा छन् । सोहीकारण ब्रोकर लाइसेन्स वितरणको काम अहिले स्थगन हुन पुगेको छ । ‘रकमको लेनदेन लगभग मिलिसकेको छ । बोर्ड अध्यक्षले अदालतसम्म पनि आफैंले सेटिङ गर्ने भन्दै थप पैसा समेत लग्नुभएको छ ।’ स्रोतले दाबी गर्दै भनेको छ–‘तर सर्वोच्चले कहिले फैसला गर्छ टुंगो छैन । हाम्रो पैसा अनाहकमा फसेको जस्तो अनुभूत भइरहेको छ ।’ 

एक बजारका जानकारका अनुसार अन्तराष्ट्रिय क्षेत्रका सेयर बजारमा ब्रोकर लाइसेन्स सम्बन्धी सबै काम बजार सञ्चालकबाट नै हुने गर्दछ । नेपालमा समेत यसअघि त्यस्तै अभ्यास थियो ।‘ तर, संसारमा कहीँ नभएको प्रयोग कार्यान्वयनमा ल्याउन खोजेर हमालले गलत नियत राखेको प्रष्टै देखिन्छ ।’ ती जानकार भन्छन्–‘बजार सुधारको काम गरेजस्तो गरेर सुरुमा वाही वाही पाउने र त्यसपछि कमाउधन्दामा लाग्ने हमालजीको योजना देखियो । उहाँले ब्रोकर लाइसेन्स वितरणमा चलखेल गरी करोडौं कमाउनुभएको सूचना हामीसँग पनि छ । त्यसपछि विभिन्न कम्पनीहरुको आइपीओ, ऋणपत्रदेखि भेञ्चर क्यापिटल लगायतसम्ममा उहाँले गडबड गर्न खोज्नुभएछ । यो खेदजनक छ ।’ 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बिजशालासँग कुरा गर्दै आफूमाथिका आरोप मिथ्या रहेका दाबी गरे । ‘मलाई बद्नाम गर्न विभिन्न गिरोहले बिचौलिया प्रयोग गरी जथाभावी भनिरहेका छन् । यो गलत छ ।’ उनले बिजशालासँग भने–‘म गलत नियत भएको मान्छे होइन । मलाई पैसा कमाउनैका लागि गलत नियत राख्न आवश्यक छैन । मेरो पृष्ठभूमि चेक गर्दा पनि हुन्छ ।’