काठमाण्डौ । कार्बी स्टक ब्रोकिङको डिफल्टपछि भारतीय सेयर बजार नियामक सेबी लगानीकर्ताको पैसा र सेयर सुरक्षित बनाउने योजनामा काम गरिरहेको छ। 

यसअघि यी विषयमा सेबीले धेरै कदम चालेको थियो। अहिले फेरि सेबी केही नयाँ विकल्पहरुमा पनि विचार गर्दैछ। 

सेबीले सेयरजस्तै फन्ड लगानीकर्ताको खातामै रहनुपर्ने र ब्रोकरको खातामा ट्रान्सफर गर्न नपर्ने विकल्पमा विचार गरिरहेको हो। सेयर कारोबार सम्झौता सम्पन्न हुनेबित्तिकै लेनदेनबराबरको रकम लगानीकर्ताको खातामा ब्लक गरिनुपर्छ। अर्थात् जसरी आईपीओ आवेदन गर्दा सेयर बाँडफाँडसँगै खातामा रकम रोकिन्छ, त्यही अवधारणा दोस्रो बजारमा पनि कारोबारका लागि ल्याउनुपर्छ। 

यस विषयमा सेबी, बैंक, एनपीसीआई (नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया) र क्लियरिङ कर्पोरेसनसँग छलफल भइरहेको छ। यसका लागि प्राविधिक परिवर्तन के–के हुने र फाइदा तथा बेफाइदा हुनसक्ने भन्ने पनि विचार भइरहेको छ।

सेबीले पनि एउटा बाटो खोज्ने विकल्पमा विचार गरिरहेको छ। जसले गर्दा सबै भुक्तानी ग्राहक खाताबाट क्लियरिङमार्फत जानेछ र ब्रोकरको खाताबाट पैसा सार्न आवश्यक हुने छैन। किनकि जब रकम ब्रोकरको खातामा जाँदैन तब दुरुपयोगको सम्भावना पनि हट्छ। 

सेबीले आईपीओमा आस्बाजस्तै दोस्रो बजारमा फन्ड ब्लक मेकानिजम विचार गरिरहेको छ। –एजेन्सी