काठमाण्डौ । ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरुले गैरकानुनी रुपमा आमलगानीकर्ताको करोडौँ रकमबराबरका पोर्टफोलियो व्यवस्थापन गरेको रहस्य खुलेको छ।

हालसम्म स्टक ब्रोकरहरुलाई पोर्टफोलियो व्यवस्थापन सेवा प्रवाह गर्न नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छैन। तर हिजोआज बढ्दो बजारमा सेयर बजार बुझेका वा नबुझेका आमलगानीकर्ताले करोडौँ रकम ब्रोकर कम्पनीहरुलाई पोर्टफोलियो व्यवस्थापन गर्न दिइरहेको ब्रोकर स्रोतको भनाइ छ। अनधिकृत रुपमा पोर्टफोलियो व्यवस्थापनको जिम्मा लिने केही ठूला ब्रोकरहरुले अग्रिम रुपमै रिटर्नको ग्यारेन्टी गरी आश्वास्त तुल्याएपछि लगानीकर्ताको करोडौँ रकम जोखिममा परेको ब्रोकर स्रोत दाबी गर्छ। 

ब्रोकर कमिसनको लोभमा सेयर बजार नै नबुझेका व्यक्तिहरुलाई खोजीखोजी बजार भित्र्याउने र लगानी गर्न प्रचारप्रसार गरिरहेको स्रोतको भनाइ छ। सेयर किन्दा पनि र बेच्दा पनि ठूलो रकम कमिसनका रुपमा असुल्ने नियतका साथ ब्रोकरहरुले लाइसेन्स नै नपाएको पोर्टफोलियो व्यवस्थापनको धन्दा फैलाइरहेको स्रोतको तर्क छ।

हिजोआज सेयर बजार देशभरि नै चर्चा र परिचर्चाको विषय बनिरहेको छ। सेयर बजारबाट रातारात करोडपति हुने सपना देखेर सोझा लगानीकर्ता ब्रोकरलाई आफ्नो पैसा दिइरहेको स्रोत बताउँछ। यसले ती लगानीकर्ताको लगानी बजारमा उच्च जोखिममा पारेको प्रस्ट हुन्छ।

व्यावसायिक रुपमा हाल धितोपत्र बोर्डबाट अनुमति लिई पोर्टफोलियो व्यवस्थापनको जिम्मा अधिकांश मर्चेन्ट बैंकहरुले मात्र लिइरहेका छन्।

ती ब्रोकरहरुले हजारौँ सदस्य भएका सेयर बजारसँग सम्बन्धित सामाजिक सञ्जालका ग्रुपमा एडमिन र मोडरेटेर भई सूचीकृत विभिन्न कम्पनी खरिद गर्न आह्वान गरिरहेको स्रोतको भनाइ छ। अनि ग्रुपमा सेयर किनेपछि उच्च मूल्यमा सोझा लगानीकर्तालाई फसाउन सेयर किनबेचका विषयमा प्रचारप्रसार गरिरहेको स्रोतको जिकिर छ।

एक ठूला ब्रोकर कम्पनीलाई ४० लाख रुपैयाँ बुझाई पोर्टफोलियो व्यवस्थापन गर्न दिएपछि पोर्टफोलियो घटेर करिब २२ लाख पुगेपछि बिजशालाको सम्पर्कमा आएकी एक महिला लगानीकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भनिन्, ‘म त डुबेँ अब अरु नडुबुन्, सेयर बजारको आधारभूत विषय अध्ययन गरी स्वयं लगानी गर्न सल्लाह दिन्छु।’

आमलगानीकर्ताको करोडौँ रकम लिई व्यक्तिगत रुपमा नियाल्न नसकिने धितोपत्र बोर्डका अध्यक्ष डा भीष्मराज ढुंगाना बताउँछन्। ‘हामीले पोर्टफोलियो व्यवस्थापनका लागि ब्रोकरलाई लाइसेन्स अहिलेसम्म दिएका छैनौँ’, अध्यक्ष ढुंगानाले भने, ‘त्यसरी अनधिकृत रुपमा ब्रोकरबाट पोर्टफोलियो व्यवस्थापनमा जोखिम भए वा लगानी डुबेमा धितोपत्र बोर्ड जबाफदेही हुने छैन।’

लगानी डुबेमा बोर्डसमक्ष उजुरी हाल्न नमिल्ने ढुंगानाले प्रस्ट पारे। ‘त्यसैले लगानीकर्ता स्वयं सजग हुनुपर्छ’, उनले बिजशालासँग भने।

बजारको उत्तारचढाव स्वभाविक छ। बजार बढिरहँदा बढिरहने पनि होइन तर व्यक्तिगत पैसा ब्रोकरको विश्वासमा थमादिँदा सेयर लगानी उच्च जोखिममा मात्रै पर्दैन कि डुब्ने खतरासमेत हुन्छ। त्यसैले लाइसेन्स नै नपाइएका स्टक ब्रोकरहरुलाई आमलगानीकर्ताले पोर्टफोलियो नै सुम्पिनु किमार्थ बुद्धिमता ठहरिँदैन।