– अनन्त्य सुन्दर
काठमाण्डौ । विगतमा लगानीकर्ताहरुको फोन नउठाउने ब्रोकरहरुको फोन अहिले लगानीकर्ताले उठाउन छोडेका छन्। अधिकांश ब्रोकरहरुले लगानीकर्तालाई १ः४ को लिमिट दिएका छन्। अर्थात् लगानीकर्ताहरुले १ लाख रुपैयाँ कोल्याट्रल राख्दा ४ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्छन्।
बढ्दो बजारमा लगानीकर्ताहरुले ब्रोकरको पैसामा नै सेयर किनबेच गर्दै आएका थिए। तर, अहिले बजारमा दैनिक रुपमा गिरावट आउन थालेपछि लगानीकर्ताहरु ब्रोकरको पैसा नै तिर्न नसक्ने अवस्थामा छन्।
‘लगानीकर्ताहरुले ५ लाख रुपैयाँ राखेर २० लाख रुपैयाँसम्मको सेयर किने’, एक ब्रोकरका सञ्चालक भन्छन्, ‘अहिले न सेयर बेच्छन् न त ब्रोकरको पैसा नै तिर्छन्।’
अहिले सेयर बजारबारे नबुझेका लगानीकर्ताहरु हौसिएर बजार प्रवेश गरेका कारण यस्तो अवस्था आएको अर्का एक ब्रोकर सञ्चालक बताउँछन्। ‘आफ्नो क्षमताभन्दा बढी सेयर कारोबार गर्ने लगानीकर्ता पनि छन्। अहिले लगानीकर्ताहरु आफैँसँग ब्रोकरलाई तिर्ने पैसा छैन। तरलता अभावले गर्दा बैंकबाट कर्जा लिएर तिर्ने अवस्था पनि छैन’, ती सञ्चालकले भने, ‘अब यी लगानीकर्ताहरुले कहाँबाट पैसा लिएर तिर्छन् ? त्यसैले अब उधारोमा कारोबार गर्न नपाइने नीति ल्याउनुपर्छ।’
‘उधारोमा कारोबार बन्द नगरेसम्म बजारमा समस्याहरु आइरहन्छन्। बजार बढेपछि मात्र पैसा तिर्छु भन्ने लगानीकर्ताहरु सयौँको संख्यामा छन्। त्यसैले कतिपयलाई ब्याज पनि लिनुपर्ने अवस्था छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘त्यसैले लगानीकर्ताहरुलाई १ः१ को लिमिटमात्र दिने नीति ल्याउनुपर्छ। त्यसका साथै बैंकसँग इन्टिग्रेट गर्दा धेरै समस्याहरुको समाधान हुन्छ।’
लगानीकर्ताहरुले ब्रोकरको त पैसा हो भनेर वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुमा लगानी गर्दा यो अवस्था आएको ती ब्रोकर सञ्चालकको आरोप छ।
स्टक्स ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली बढ्दो बजारमा लगानीकर्ताहरु ब्रोकरकै पैसा घुमाएर लगानी गर्छु भन्ने संख्या धेरै रहेको बताउँछन्। ‘अहिले आफ्नो आम्दानीको स्रोत नभएका लगानीकर्ताहरु पनि ब्रोकरको पैसामा हौसिएर लगानी गर्छन्’, उनी भन्छन्, ‘कतिपय लगानीकर्ताहरुलाई आफूले सोचेको मूल्यमा बेच्न पाइएन भने के गर्ने भन्ने पनि थाहै छैन।’
मैनालीका अनुसार लगानीकर्ताहरुले लगानी गर्दा आफ्नै पैसाले मात्र लगानी गर्नुपर्छ। त्यसो गर्दा बजार घट्यो भने पनि कम्पनी घाटामा नबेची होल्ड गर्न सकिने उनको भनाइ छ।
14 minutes ago
49 minutes ago
55 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago