काठमाण्डौ । कोभिड १९ को संक्रमणका बीच घरैबाट काम गर्ने ट्रेण्ड बढ्दै गएको छ । यस्तो अवस्थामा नेपालको एक सेयर ब्रोकर कम्पनीले घरैबाट आफ्ना ग्राहकले सेवा लिनसक्ने सुविधा सुरु गरेको छ । 

ब्रोकर नम्बर ५०, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले घरैबाट अनलाइनमार्फत नयाँ खाता खोल्न, आफ्नो खाता नवीकरण तथा अद्यावधिक गर्नसक्ने सुविधाको सुरुवात गरेको हो । 

सो ब्रोकर कम्पनीका कार्यकारी अधिकृत प्रियराज रेग्मीका अनुसार क्रिस्टल सेक्युरिटिज डटकम वेबपेजमार्फत ग्राहकले यस्तो सुविधा पाउनेछन् । 
यस्तो व्यवस्था भएसँगै अब आफ्ना ग्राहकहरुले डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्न कार्यालय धाउनुपर्ने झञ्झटबाट मुक्ति पाएका उनको भनाई छ । 

बिजशालाले केही दिनअघि मात्रै ब्रोकर कम्पनीहरुमा डिम्याट खाता नवीकरण तथा केवाइसी अपडेटको नाममा अचाक्ली भीड बढेको र यसबाट कोरोना संक्रमणको जोखिम बढेको रिपोर्ट प्रकाशित गरेको थियो । 

रेग्मीका अनुसार ग्राहकहरुले सेयर कारोबार खाता खोल्न तथा नवीकरण वा अद्यावधिक गर्न समेत अनलाइनबाटै सक्नेछन् । नयाँ खाता खोल्न चाहने ग्राहकले भने दरखास्त प्रमाणित गर्नका लागि एकपटक ब्रोकर कार्यालय पुग्नैपर्ने हुन्छ ।