काठमाण्डौ । दक्षिण एसियाकै महँगो ब्रोकर कमिसन लागू भएको नेपालको सेयर बजारमा ब्रोकरहरुले दैनिक करोडौं कमिसन असूल गर्दा लगानीकर्ताहरुको ढाड सेकिएको छ ।

चौतर्फी माहौल सकारात्मक बन्दै जानु र नेप्सेको अनलाइन प्रविधिका कारण समेत निरन्तर बुलिस ट्रेण्डमा रहेको बजारमा सेयर खरिदबिक्रीबापत तिर्नुपर्ने ब्रोकर कमिसनले भने लगानीकर्ताहरुको मुनाफामा सोझो असर र लागत बढाउने काम भइरहँदा बजारको नियामक नेपाल धितोपत्र बोर्ड आलटालमै समय व्यतित गरिरहेको छ।

हिजोआज कारोबार रकम उल्लेख्य बढेर लगानीकर्ताले मोटो रकम कमिसनको रुपमा तिर्नुपर्दासमेत लगानीकर्ताको हकहितका नाममा खोलिएका संघसंस्था चूप छन् भने लगानीकर्ताहरुले सामाजिक सञ्जालमा दैनिकजसो ब्रोकर कमिसन कटौतिको विषयमा उठाउने गरेका मागहरुलाई पनि बेवास्ता गरिरहेका देखिएको छ । 

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन भन्दै लगानीकर्ताहरुलाई दिएको फोस्रो आश्वासनले अब नमान्ने बताउँछन् । डेढ महिनाअघिदेखि नयाँ घटेको ब्रोकर कमिसन लागू हुने बोर्डको आश्वासन अहिलेसम्म पनि कार्यान्वयन नभएकोमा आशंका उब्जेको ढकाल जिकिर गर्छन् । 'विगतमा डेढ अर्ब हाराहारी कारोबार हुँदा र अहिले करिब ८ अर्ब कारोबार हुँदासमेत ब्रोकर कमिसन उस्तै हुनु व्यवहारिक छैन, अब ब्रोकर कमिसन निर्विकल्प घट्नुपर्छ ।' उनले भने-'निरन्तर रुपमा कारोबार बढिरहेको अवस्थामा आफूहरुले पाउने कमिसन घटाउँदा हुने विषयमा ब्रोकरहरु पनि सकारात्मक नै देखेको छु ।' 

ब्रोकर कमिसन कटौतिकै विषय लिएर एकदुई दिनभित्रै धितोपत्र बोर्ड पुनः डेलिगेसनका लागि जाने तयारी भइरहेको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल दाबी गर्छन् । बोर्ड अध्यक्ष ढुंगानासँग ब्रोकर कमिसन घट्नुपर्छ भन्ने विषयमा नियमित कुराकानी भइरहेको उल्लेख गर्दै उनले ब्रोकर कमिसन छिटोभन्दा छिटो घट्नुपर्ने बताए । 'ब्रोकर कमिसन कटौतीका विषयमा बोर्डले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनेमा हामी आशावादी छौं ।'-उनले भने।

बजारका जानकार हरि ढकाल अहिलेको कारोबारमा समेत ब्रोकर कमिसन नघटाइनुलाई दुर्भाग्यपूर्ण भनेका छन् । ब्रोकरहरुको लबिङले नै ब्रोकर कमिसन नघटाउने प्रपञ्च भइरहेको संकेत गर्दै उनले लगानीकर्ताको पक्षमा आँधीबेहरी सिर्जना हुने र त्यसमा आफ्नो साथ र समर्थन रहने बताए । 

यता, ब्रोकर कम्पनीका संचालकहरु भने अहिले पनि ब्रोकर कम्पनी घाटामै गएको र ब्रोकर कमिसन महँगो नभएको दाबी गर्छन् ।