– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आज राजधानीमा पत्रकार सम्मेलन गरी धितोपत्र बोर्डले गर्नुपर्ने काम ६ भागमा विभाजन गरी प्रस्तुत गरेका छन्।

अध्यक्ष हमालले नियुक्ति भएको पहिलो दिनदेखि नै साना लगानीकर्ताको हकहितमा काम गर्ने बताउँदै आएका छन्। साना लगानीकर्तालाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिँदै गर्दा अध्यक्ष हमालले ब्रोकर कमिसन के गर्लान् ? भन्ने लगानीकर्तामात्र नभएर स्वयं ब्रोकरहरुको चासोको विषय बन्दै आएको छ।   

लगानीकर्ताले अहिले ब्रोकरलाई ०.४० प्रतिशत कमिसन तिर्दै आएका छन्। ब्रोकर कमिसनको शुल्क घटेर ०.२० प्रतिशत कायम गर्नुपर्ने अधिकांश लगानीकर्ताको माग रहेको छ। 

पत्रकार सम्मेलनमा अध्यक्ष हमालले आफ्नो कार्यकालमा ब्रोकर कमिसन घट्ने संकेत दिएका छन्। ‘साना लगानीकर्ताको हकहितमा काम गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो’, उनले भने, ‘त्यसैले साना लगानीकर्तालाई ठगिनका साथै मर्कामा पर्नबाट बचाउन टी प्लस टु सेटलमेन्ट नगर्ने ब्रोकरलाई कारबाही गर्छौं। त्यसका साथै लगानीकर्तालाई शुल्कमा केही राहत दिने योजना रहेको छ।’

प्रथम बजारका साथै दोस्रो बजारमा हुने लागत, शुल्कबारे आफूहरुले बोर्डमा गहन अध्ययन गरिरहेको हमालले बताए। ‘अहिले बजारमा विगतको तुलनामा प्रविधिको प्रयोग पनि बढेको छ। त्यसैले लगानीकर्ताका साथै बजारका सहभागीलाई अप्ठ्यारो नहुने गरी लागतका साथै शुल्कको मोडल तयार गर्छौं’, उनले भने।

लगानीकर्तालाई शुल्कमा केही राहत दिने योजनासमेत रहेको हमालले सुनाए। अर्थात् नवनियुक्त अध्यक्ष हमालले ब्रोकर कमिसन घटाएर साना लगानीकर्तालाई राहत दिने संकेत दिएका छन्। 

यता ब्रोकर कमिसन घटाउने अध्यक्ष हमालको उक्त संकेतमा ब्रोकरहरुले भने आपत्ति जनाएका छन्।

ब्रोकरहरु भने ब्रोकर कमिसन घटाउँदै गर्दा ब्रोकरहरुको कार्यक्षेत्र विस्तारमा बोर्डले काम गर्नुपर्ने बताउँछन्। ‘हाम्रो सिजनल बिजनेस हो’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘बजार बुलिस हुँदा सबैले ब्रोकरले कमाएको देख्छन्। तर बियरिस बजारमा ब्रोकरहरुलाई कमिसनबाट मात्र व्यवसाय सञ्चालन गर्न मुस्किल छ।’

ब्रोकर कमिसन घटाएको खण्डमा ब्रोकरहरुको पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी, मार्जिन ट्रेडिङलगायतको सेवासुविधा दिएर कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको ती ब्रोकर सञ्चालकले बताए। ‘ब्रोकर कमिसन घटाएको घटाइमात्र गर्ने हो भने कुनै दिन ब्रोकर कमिसन शून्य नहोला भन्न सकिन्न’, ती सञ्चालकले भने, ‘बोर्डले फेरि पनि ब्रोकर कमिसन घटाउने हो भने हामीलाई थप सेवासुविधा दिन अनुमति दिनुपर्छ। ब्रोकर कमिसनमात्र घटाउने हो भने हामी हाम्रो व्यवसायको ढोका बन्द गरेर बस्न बाध्य हुने छौँ।’