काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले यही भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी)लाई लाइसेन्स (अनुमतिपत्र) प्रदान गर्ने बताएका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट आयोजना गरेको दुईदिने ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै अध्यक्ष हमालले पीईभीसी सञ्चालन गर्ने विषयमा पनि सेबोन निकै गम्भीर रहेको बताए। ‘हिजोमात्रै सेबोनको बोर्ड बैठकले दोस्रो प्राइमेट इक्विटीलाई अनुमतिपत्र दिने निर्णय गरेको छ’, उनले भने, ‘यही भदौभित्र १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ।’ 

हिजोको बैठकले सी–आस्बा सेवामा लाग्ने शुल्क अधिकतम ५ रुपैयाँ कायम गर्ने प्रस्तावमाथि पनि छलफल गरी निर्णय गरेको हमालले बताए। यसअघि यस्तो शुल्क अधिकतममा १०० रुपैयाँसम्म थियो।

अध्यक्ष हमालले एसएमई प्लेटफर्मले पुँजीबजारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘पुँजीबजारका लागि एसएमई प्लेटफर्मले आवश्यक भइसकेको छ, त्यसैले यस विषयमा छलफल गरौँ’, उनले भने। 

डेरिभेटिभ मार्केट सञ्चालन गर्ने विषयमा निकै चनाखो हुनुपर्ने हमालको भनाइ थियो। ‘सेबोनले अझै धेरै काम गर्न बाँकी छ’, उनले भने, ‘त्यसैले डेरिभेटिभजस्ता वित्तीय औजार सञ्चालनमा ल्याउँदा हामीले निकै सावधानी अपनाउनुपर्छ।’