– रेखा चन्द

काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भदौमा पनि बैंकको साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। 

एनबीएको आज बसेको बैठकले भदौमा साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो। ‘व्यक्तिगत मुद्दति निक्षेपतर्फ साउनकै अधिकतम ११.०३ प्रतिशतलाई भदौमा कायम गर्ने निर्णय भएको छ’, एनबीए स्रोतले भन्यो, ‘संस्थागत मुद्दति निक्षेपतर्फ भने १ प्रतिशतले घटाएर अधिकतम ९.०३ ब्याजदर कायम गर्ने बैंकहरुबीच सहमति बनेको छ।’ 

यसअघि साउन २२ गते बसेको एनबीएको बैठकमा भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने बैंकहरुले भद्र सहमति गरेका थिए तर निर्णय नै भने भएको थिएन। ‘आज बसेको बैठकले सोहीअनुसार नै निर्णय गरेको छ, अब बैंकहरुले सोहीअनुसार भदौको ब्याजदर सार्वजनिक गर्नेछन्’, एनबीए स्रोतले भन्यो। 

अहिले बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतममा ११.०३ प्रतिशत दिँदै आएका छन् भने संस्थागतमा १०.०३ प्रतिशत ब्याज दिइरहेका छन्। यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ। 

अब बैंकहरुले संस्थागतमा ९.०३ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्नेछन्।