काठमाण्डौ । हालसम्मकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंकको जन्म हुने निश्चित भएको छ । नेपाल राष्ट्रबैंकले निकै ढिलोगरी भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेपछि चुक्तापूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंकको उदय निश्चित भएको हो । 

यी दुई बैंकले मर्जरका सबै आन्तरिक तयारी पूरा गरी असारभित्रैदेखि संयुक्त कारोबार थाल्ने बताएका थिए । यही योजनाका साथ उनीहरुले अन्तिम स्वीकृतिका लागि समयमै राष्ट्रबैंकमा निवेदन दिए पनि त्यहाँको ढिलासुस्तीले बुधबार मात्र अन्तिम स्वीकृतिको पत्र प्राप्त भएको भिबोर विकास बैंकका एक अधिकारीले बताए ।

मर्जरको  अन्तिम स्वीकृति आएपछि अब बन्ने नयाँ बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड भन्दा बढी पुग्नेछ । यति धेरै चुक्तापूँजी देशमा रहेका अन्य कुनै पनि विकास बैंकको छैन । केहीअघि मर्जर सकेर संयुक्त कारोबार सुरु गरिसकेको कैलाश विकास बैंकको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ थियो । 

उनका अनुसार ढिलै भए पनि मर्जरको अन्तिम स्वीकृति आएपछि अब भदौ १७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिनेछ । ‘हामी दुवै बैंक अन्तिम स्वीकृतिको प्रतिक्षामा थियौं ।’ ती अधिकारीले भने–‘राष्ट्रबैंकले अन्तिम स्वीकृतिको पत्र पठाएको छ, अब कुनै विलम्ब नगरी संयुक्त कारोबार थाल्नेछौ ।’ 

नेपाल राष्ट्रबैंकले देशका विकास बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड हुनुपर्ने नीति लिएपछि त्यसैलाई पछ्याउँदै यी दुई बैंकले गत पुस ९ गते एकआपसमा मर्ज हुने सम्झौता गरेका थिए । सो क्रममा मर्जपछि  बन्ने  बैंकको नाम ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ रहने सहमति समेत भइसकेको छ । दुवैले सेयर स्वाप रेसियो, संचालक समिति तथा सीइओको बिषयमा समेत टुंगो लगाइसकेका छन् । 

मर्जरको  अन्तिम स्वीकृति आएपछि अब बन्ने नयाँ बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड भन्दा बढी पुग्नेछ । यति धेरै चुक्तापूँजी देशमा रहेका अन्य कुनै पनि विकास बैंकको छैन । केहीअघि मर्जर सकेर संयुक्त कारोबार सुरु गरिसकेको कैलाश विकास बैंकको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ थियो । हालसम्मको सर्वाधिक चुक्तापुँजी कैलाशकै भए पनि अब योभन्दा बढी चुक्तापूँजी भएको बैंक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बन्ने भएको हो ।

बैंक निकट स्रोतका अनुसार राष्ट्रबैंकले तोके अनुसारको चुक्तापूँजी पुर्याउन भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आगामी दिनमा कुनै सानो संस्था खरीद गर्ने वा त्यो संभव नभए हकप्रद वा बोनस सेयर जारी गरी ०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याइनेछ । 

आर्थिक वर्ष २०७२/७३ मा भिबोर विकास बैंकले २० करोड ३७ लाख खूद नाफा कमाएको छ । अघिल्लो आबमा यो बैंकको नाफा १५ करोड ८४ लाखमा सीमित थियो । यो अवधिमा बैंकले डूबेको कर्जा असूलीमा निकै ठूलो सफलता हात पार्दा नाफा बढेको हो । सोसाइटी डेभलपमेन्ट बैंकको नाफा समेत २० करोड ५ लाख पुगेको छ । यो बैंकको खूद नाफा चाहि गत आबको तुलनामा कम हो । गत आबमा यो बैंकले २० करोड ३२ लाख खूद नाफा कमाएको थियो । यो बैंकको चुक्तापूँजी ८९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।