काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने भएको छ। 

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने गरी तयारी भइरहेको बताएका हुुन्। ‘सर्वसाधारणलाई कहिलेदेखि बाँड्ने भनेर निर्णय भइसकेको छैन तर भदौ २६ गतेबाट बैंकहरुमा चाहिँनयाँ नोट पठाउने गरी राष्ट्र बैंक तयारीमा जुटेको छ’, उनले भने। 

राष्ट्र बैंकले भने सम्भवतः असोज २ गतेबाट दसैँतिहार लक्षित नयाँ नोट बाँड्ने नेपालको भनाइ छ। उनले भने, ‘तर, बैंक तथा वित्तीय संस्थाहरुले भने भदौ २६ गते राष्ट्र बैंकबाट नयाँ नोट लगेर त्यसको १–२ दिनमा सर्वसाधारणलाई दिन सक्छन्।’

राष्ट्र बैंकका अनुुसार यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको सुविधा रहेको छ। नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका हुुनेछन् भने सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न पाईनेछ।