काठमाण्डौ। उच्च अदालत पाटनले फागुन २८ गते शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन्। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको बिहीबारको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो।

रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ।

विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको थियो। परीक्षामा कुल ९ हजार २३ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।