काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकिएको छ। 

उच्च अदालत पाटनको आदेशपछि भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकेको हो। विभाग भन्सार एजेन्टको लिखित परीक्षा आउँदो वैशाख १७ गते शनिबार तोकेको छ। 

परीक्षा दिउँसो २ बजेबाट सुरु हुनेछ। परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ। 

यसअघि गत फागुन २८ गते शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन्। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो।

रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ।

उच्च अदालत पाटनको गत चैत १३ को सुनुवाइबाट उक्त अल्पकालीन आदेशलाई निरन्तरता नदिई अन्तरिम आदेश जारी नगर्ने आदेश भएकोले विभागले पुनः लिखित परीक्षाको मिति तय गरेको हो। 

विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो। परीक्षामा कुल ९ हजार २३ जना परीक्षार्थी सहभागी हुनेछन्।