काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७१ औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ। भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गरे। भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए। भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो।
अर्थ मन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघि रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए। अर्थ मन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उनले पनि योगदान पुर्याएका थिए।
सम्मान कार्यक्रममा अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रवर्द्धन हुने गरी व्यापार सहजीकरण हुनुपर्ने बताए। उनले भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए।
भन्सार प्रशासन सुधार गरेमात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ थियो। बिल बिजक लिने–दिने कार्यलाई बाध्यकारी बनाउनुपर्ने उनले बताए।
अध्यक्ष मल्ले करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पूरा गर्नुपर्ने बताए। ‘सरकारी नीति एकद्वार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका छन्’, उनले भने, ‘भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्छ। भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला बनाउनुपर्छ।’
कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताए। मुलुक विश्व व्यापार संगठन डब्ल्यूटीओको सदस्य भइसकेको अवस्थामा सोहीअनुसारको अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई कायम गर्नुपर्ने रायले बताए। भन्सार सुधारको आवश्यकता आफूलाई पनि महसुस भएको रायको भनाइ थियो।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बूढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताए। यसका लागि विभागले डिजिटलाइजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको उनको भनाइ थियो।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago