काठमाण्डौ। भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको जनाएको छ। 

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मुल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए। उनले  विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे। 

भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए। भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै उनले सहकार्यका लागि परिसंघलाई आग्रहसमेत गरे। 

परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिनुपर्ने केही मूलभूत विषयहरुमा ध्यानाकर्षण गराए। करिब २५ वर्षयतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेण्टको संख्या बढाउन पनि उनले आग्रह गरे। 

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहीन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगीव्यवसायीहरुलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे। यसैगरी भन्सारमा मूल्याङ्कन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोले मूल्यांकनको यथार्थपरक डेटाबेस निर्माण गरी पारदर्शी र अनुमानयोग्य मूल्यांकन प्रणालीको स्थापना गर्न सकेमा भन्सारको छवि सुधार हुनेतर्फ पनि अग्रवालले ध्यानाकर्षण गराए। 

भन्सार पुर्वाधारहरु नयाँ बने पनि नयाँ पूर्वाधारमा कार्गाे पार्किङ यार्ड तथा डर्टी कार्गाे व्यवस्थापन गर्ने स्थान पनि उपलब्ध नभएकाले नयाँ बन्ने भैरहवा, नेपालगञ्ज, उत्तरी सीमा तथा काठमाण्डौ चोभारको व्यापार सहजीकरण अनुकूल सुविधा सम्पन्न पूर्वाधारको शीघ्र निर्माणका लागि पनि अग्रवालले आग्रह गरे। 

अन्तक्र्रियामा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रवद्र्धनका लागि नेपाल ट्रेड इन्फरमेसन पोर्टल सुरु गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजीलाई आग्रह गरे। उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्नेतर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाए। 

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्रमान सिंहले उत्पत्तिको प्रमाण् पत्र जारी गर्ने नयाँ कार्यविधि, जिएसपि तथा रेक्स प्रणालीका बारेमा प्राविधिक जानकारी समेटेर प्रस्तुतीकरण गरे। अतिकम विकसित देशको रुपमा नेपालले प्राप्त गरेका व्यापार सहुलियतबाट निकासीकर्ता तथा व्यवसायीहरुले फाइदा लिन सक्ने र यसले नेपालको निर्यातमा गुणात्मक अभिवृद्धि हुनसक्ने उनको भनाइ थियो। 

अन्तरक्रियाका  सहभागीलाई धन्यवाद व्यक्त गर्दै परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भन्सार पुर्वाधार तथा सेवामा भएका सुधारको स्वागत गर्दै वस्तु उत्पादनको लागत कम गर्ने र निकासीकर्तालाई थप सहुलियत दिन सकेमात्र निर्यातको अंश बढाउन सकिने बताए। नेपाल सरकारको सहयोगमा परिसंघले चितवनमा निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको उपयोगका लागि निकासी तथा  व्यापार प्रवद्र्धन केन्द्रले देखाएको चासोबाट उत्साहित भएको भन्दै उनलेसहकार्यका लागि केन्द्रलाई आग्रह गरे।

अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेसहित आयात निर्यात व्यापारमा संलग्न व्यवसायीहरुको उपस्थिति थियो।