काठमाण्डौ । नेपाल आयल निगमले दुई ग्यास उद्योगको १५ दिनका लागि कारोबार रोक्का गरी कारबाही गरेको छ।

अभावलाई परिपूर्ति गर्न आधा सिलिन्डर ग्यास बजार पठाउन निर्देशन दिए पनि अटेर गरेर भरी सिलिन्डर (१४.२ किलो) बिक्री गरेपछि जानकी ग्यास र लियो ग्यास उद्योगमाथि कारबाही गरिएको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय निगमले यस विषयमा छानबिन समिति बनाइसकेको र सोही समितिको सिफारिसका आधारमा थप कारबाही प्रक्रिया अघि बढाइनेछ।

मुलुक लकडाउनमा गएपछि उपभोक्ताले सिलिन्डर होल्ड गर्न थाले पनि निगमले अभाव घटाउन आधा सिलिन्डर (७.१ किलो) ग्यास बिक्री गर्न दुई साताअघि उद्योगहरुलाई निर्देशन दिएको थियो। 

सबै ग्यास उद्योगले निगमको निर्देशन पालना गरे पनि दुई उद्योगले अटेर गरे पछि कारबाही गरेको निगमले स्पष्ट पारेको छ।