काठमाण्डौ । एभरेष्ट र लक्ष्मी बैंकको मर्जर अन्ततः भाँडिएको छ । 

विगत लामो समयदेखि जारी एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर अन्तिम अवस्थामा सेयर स्वाप रेसियोमा कुरा नमिल्दा भाँडिन पुगेको हो । 

एक भारतीय र एक नेपाली कम्पनीले गरेको डिडिएको रिपोर्टका आधारमा तय भएको सेयर स्वाप रेसियोअनुसार मर्जमा जान एभरेष्ट बैंकले नमानेपछि र दिनहुँ नयाँ–नयाँ अडान थप्दै लगेपछि अन्ततः यी दुई ठूला बैंकको बहुचर्चित र बहुप्रतिक्षित मर्जर नै भाँडिएको स्रोतले दाबी गरेको हो । 

‘अब एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर सफल हुने कुनै संभावना छैन ।’ लक्ष्मी बैंकका एक संचालकले बिजशालासँग भने–‘डिडिए रिपोर्टले तय गरेको सेयर स्वाप रेसियोमा मर्जरमा जान हामी तयार थियौं, तर एभरेष्ट बैंकले हामीलाई अवमूल्यन गर्न खोज्यो । संभवत अब एभरेष्टसँगै मर्जरको कुरा पुनः दोहोरिने छैन।’ 

दुई बैंकबीचको मर्जर सफल हुने आशामा लक्ष्मी बैंकले आफ्ना सीइओ सुदेश खालिङलाई विदाई गरेपछि पनि केही समय कुरेर बसेको थियो । तर, एभरेष्टबाट मर्जरलाई निश्कर्षमा पुर्याउनका लागि ग्रिन सिग्नल नआएपछि लक्ष्मी बैंकको संचालक समितिले मर्जर सफल नहुने निश्कर्ष निकाल्दै आगामी ४ वर्षे कार्यकालका लागि डेपुटी सीइओ अजयविक्रम शाहलाई सीइओमा नियुक्तिको निर्णय गरेको छ । कात्तिक १५ गते बसेको लक्ष्मीको संचालक समितिले शाहलाई कात्तिक १६ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । 

यसअघि एभरेष्टसँगको मर्जर प्रक्रियाको क्रममा लक्ष्मीसँग मर्जरपछि बन्ने बैंकको सीइओ एभरेष्टले नै लिने सहमति भएको थियो । मर्जर सफल भइहाल्ने आशासहित लामो समय सीइओ नियुक्त नगरी बसेको लक्ष्मी बैंक संचालक समितिले एभरेष्टसँगको जारी मर्जर असफल भएको निश्कर्षसहित शाहलाई सीइओ नियुक्त गरेको हो । 

‘एभरेष्टसँगको मर्जर सफल हुने संभावना हुन्थ्यो भने शाहलाई सीइओ नियुक्त गरिन्न थियो ।’ संचालकले बिजशालासँग भने–‘यसबाट पनि तपाईहरुले बुझुनुपर्छ कि अब मर्जर भाँडिइसक्यो । कुनै चमात्कार भयो भने मात्र, तर अब एभरेष्ट र लक्ष्मी बैंक मर्ज हुने कुरा यथार्थमा परिणत हुन सक्दैन।’ 

डिडिएले एभरेष्ट बैंकको ५० कित्ता बराबर लक्ष्मी बैंकको १०० कित्ताको स्वाप रेसियोको आधारमा मर्जमा लैजान सकिने देखाएको थियो । एभरेष्टसँग १००ः५० को सेयर स्वाप रेसियोमा जान लक्ष्मी बैंक तयार भए पनि एभरेष्टले यसमा भाँजो हाल्ने काम गरेको थियो । एभरेष्टले लक्ष्मीलाई ३५ कित्ताको स्वापमा मात्र लैजाने अडान नछाडेपछि मर्जर भाँडिएको हो । 

दुई बैंकबीच मर्ज भई बढी चुक्तापूँजी भएको पहिलो वाणिज्य बैंक बन्ने र बजारलाई डोमिनेन्ट गर्ने ठूलो उद्देश्यका साथ एभरेष्ट र लक्ष्मी बैंकको मर्जरको भगिरथ प्रयास भए पनि एभरेष्टका कारण भाँडिएको लक्ष्मी बैंक स्रोतको दाबी छ ।

एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको पञ्जाब नेशनल बैंकको इच्छाअनुसार इन्टरनेशनल एकाउन्टेन्सी फर्म(इएनवाई) नामको कम्पनी र लक्ष्मी बैंकको तर्फबाट एक स्वदेशी कम्पनीले डिडिएको काम गरेका थिए ।

यसअघि दुवै बैंकका ठूला सेयरहोल्डरहरुले सम्पति तथा दायित्वको मूल्याङ्कन(डिडिए) अगाडि नै सेयर स्वाप रेसियोमा मोलमोलाई गर्न खोज्दा त्यसबेलाको मर्जरको कुरा पनि हल्लै हल्लामा सीमित भएको थियो । तर, ४ महिना लामो प्रयासपछि पनि यसपटकको मर्जर समेत हात्ती आयो, हात्ती आयो फुस्सा झै भएको छ ।