काठमाण्डौ । अमेरिकी डलरको विनिमय दरमा लगातारको गिरावटमा ब्रेक लाग्दै आज मंगलबार एकैदिन १.१२ रुपैयाँले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ हिजोको तुलनामा १.१२ रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै मंगलबार प्रतिडलर खरिददर १२०.६८ रुपैयाँ र बिक्रीदर १२१.२८ रुपैयाँ पुगेको छ। 

हिजो सोमबार प्रतिडलर खरिददर ११९.५६ रुपैयाँ बिक्रीदर १२०.१६ रुपैयाँ रहेको थियो। डलरको भाउ आइतबारको तुलनामा सोमबार ८ पैसाले बढेको थियो। आइतबार प्रतिडलर खरिददर ११९.४८ रुपैयाँ र बिक्रीददर १२०.०८ रुपैयाँ थियो। 

डलरको भाउ गत साताको मंगलबार भने नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीदर १२२.३४ रुपैयाँ पुगेको थियो। यो दिनपछि लगातार घटिरहेको डलरको भाउमा गत आइतबारबाट सुधार आउन थालेको हो।