काठमाण्डौ । उत्तर अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको चिठ्ठा जित्ने महिलाले करिब ८० अर्ब नेपाली रुपैयाँ पाएपछि जागिर छाडिदिएकी छिन् । 

यति ठूलो चिठ्ठा जित्ने ५३ वर्षीया माविस वाङजिक दुुई बच्चाकी आमा रहेकी बीबीसीले जनाएको छ । उनले मेसाचुसेट्सको शिकोपीस्थित एक पेटोल पम्पबाट चिठ्ठाको टिकट खरीद गरेकी थिइन्।

चिठ्ठा जित्ने ती महिलाले मिडियाहरुसँग कुरा गर्दै आफूले जागिर छाडेकी बताएकी छिन् । ८० अर्ब नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेकी उनको लक्की नम्बर ६, ७, १६, २३, २६ र ४ थियो । 

यसअघि सन् २०१६ जनवरीमा अमेरिकाको पावरबेल ज्याकपटमा करिब १ सय ७५ अर्बको लोटरी निकालिएको थियो । यो धनराशि त्यसबेला तीन टिकट होल्डर्सले हात पारेका थिए । 

मेसाचुसेट्स स्टेट लोटरीका अनुसार बुधबार राति लक्की डबाट भाग्यमानी छानिएको थियो ।

चिठ्ठाबाट सर्वाधिक रकम हात पारेपछि माविसले मिडियाहरुसँग भनेकी छिन्–‘अब मेरो पहिलो काम भनेको घर बसेर आराम गर्नु हुनेछ । मेरो यही सपना थियो, जुन अब पूरा हुने भयो ।’ 

उनले आफ्ना आफन्तको जन्मदिनको आधारमा लक्की नम्बर छनौट गरेकी थिइन । 

उनले थपेकी छिन्–‘मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा नोकरी गरेँ । मैले उनीहरुलाई भनिदिएको छुु कि अब म त्यहाँ फर्कन्न । अब म ओछ्यानमै बसी बसी जीवन काट्नेछु।’ 

अन्य योजनाको बिषयमा सोधिएको प्रश्नमा उनले गत वर्ष मात्रै आफूले ऋण गरेर कार खरीद गरेको र अब त्यो ऋण एकसाथ चुक्ता गरी ऋणमुक्त हुने बताइन् ।