काठमाण्डौ । भारतको खुफिया एजेन्सीले नेपाली भूमिलाई प्रयोग गरी पाकिस्तानी सेनाका एक अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेललाई भारतसँग सीमा जोडिएको लुम्बिनीबाट गायब बनाएको गम्भीर आरोप लागेको छ । 

एक नक्कली अमेरिकी कम्पनी, व्यक्ति र वेबसाइट समेत खडा गरी अवकाशप्राप्त सैनिक अधिकृत मोहम्मद हबीबलाई अन्तर्वार्ताका लागि काठमाण्डौ बोलाई निकै नियोजित ढंगले रअले अपहरण गरी गायब पारेको आरोप लागेको हो । 

उनलाई काठमाण्डौबाट एक दिनका लागि लुम्बिनी बोलाएर रअले अपहरण गरी बेपत्ता बनाएका बताइएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन नेपाल पुगेपछि बिहीबारबाट बेपत्ता भएको जनाएका छन्। उनी बुद्ध एअरको विमान चढेर काठमाण्डूबाट लुम्बिनीसम्म गएको र त्यहाँबाट अचानक सम्पर्क्विहीन भएको जनाइएको छ।

आफ्ना नागरिक तथा अवकाशप्राप्त सैन्य अधिकृत लुम्बिनीबाट हराएपछि आइतबार पाकिस्तानी रक्षा मन्त्रालयले नेपालका अधिकारीलाई उनी रोजगारीको शिलशिलामा लुम्बिनीमा उत्रेको केही क्षणदेखि नै हराईरहेको भन्दै खोजबिनका लागि औपचारिक आग्रह गरेको छ । पाकिस्तानले आफ्ना नागरिकलाई नेपाली भूमिबाट गायब पारेर भारतले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप गरेको मात्र नभई अन्तराष्टिय अपराध समेत गरेको दाबी गरेको छ । 

पाकिस्तानले नेपाल सरकारलाई दिएको जानकारी अनुसार मोहम्मद हबिब जागिरका लागि अन्तवार्ता दिन अप्रील ६ तारिखका दिन नेपाल आइपुुगेका थिए । लुम्बिनी उत्रे लगत्तै परिवारलाई आफू नेपालको लुम्बिनी पुगेको जानकारी गराएका उनी त्यसपछि एकाएक गायब भएका हुुन् ।

प्रारम्भिक अनुसन्धान अनुसार सैन्य हतियार बिभागमा कार्यरत हबीब ३१ अक्टोबर २०१४ मा सेनाबाट रिटायर्ड भएका थिए । केही महिनाअघि उनले सामाजिक साइट लिङ्क्ड इन र संयुक्त राष्ट्रसंघको वेबसाईटमा आफ्नो बायोडाटा पोष्ट गरेका थिए । त्यसको जवाफमा युकेका मार्क थम्प्सन नामका व्यक्तिले इमेलमार्फत उनलाई सम्पर्क गरे । पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार यो वेबसाईट भारतमा होष्ट गरिएको हो । उनलाई जागिरका लागि छानिएको भन्दै अन्तवार्ताको बाहानामा काठमाण्डौ बोलाएर बेपत्ता बनाइएको पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ । पाकिस्तानी अधिकारीहरुले जाहिरसँग सम्पर्कमा रहेको मार्क थम्प्सन भन्ने मानिस नक्कली रुपमा खडा गरिएको र उनको कम्पनीको वेबसाइट समेत बन्द भएको उल्लेख गरेका छन् ।

हबिबलाई अमेरिकी डलर ३५ सयदेखि ८५ सयसम्म प्रस्ताव गर्दै अन्तवार्ताका लागि ६ अप्रिलमा काठमाडौं पुग्न भनिएको थियो । त्यसका लागि ओमान एयरलाईन्सबाट लाहोर–ओमान–काठमाडौंको टिकटसमेत पठाइएको थियो । यात्रा रेकर्ड हेर्दा उनले ५ अप्रिलमा ओमन एयरलाईन्सको उडान नम्बर डब्लुवाई ३४४ बाट ओमानको यात्रा गरेको देखिने स्रोतको भनाई छ।

पाकिस्तानी सरकारको दाबी अनुसार अपहरित कर्णेल हबीबलाई भारतीय खुफिया एजेन्सीले योजनाबद्ध रुपमा हुँदै नभएको अपराधमा फसाउन खोजेको देखिन्छ । नेपाल सरकारको सहयोगमा आफ्ना नागरिकलाई सकुशल पत्ता लगाई उद्धार गर्ने पनि पाकिस्तानी सरकारले जनाएको छ ।