काठमाण्डौ । मौद्रिक नीतिमार्फत नेपालका बैंकहरुको चुक्तापूँजी साबिकको तुलनामा ४ गुणाले वृद्धि गर्नुपर्ने व्यवस्थाको विरोध गर्दै नेपाल राष्ट्रबैंकको नीति तथा निर्देशनमा समेत अटेरीपन प्रस्तुत गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भारतमा समेत त्यस्तै हर्कत प्रस्तुत गरेको छ । त्यहाँ समेत रिजर्ब बैंक अफ इण्डिया(भारतको केन्द्रीय बैंक)को निर्देशन तथा व्यवस्था स्ट्याण्डर्ड चार्टर्डले नमानेको पाइएको छ । नेपालमा राष्ट्रबैंकले यो बैंकलाई कानूनी कठघरामा ल्याउन खुट्टा कमाए पनि रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले भने अटेरी बैंकलाई जरीवाना तिराएको छ । 

आरबीआईले हालै भारतमा कार्यरत ५ विदेशी बैंकहरुलाई फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्ट(फेमा) उल्लंघन गरेको भन्दै जरीवाना तिराएको हो । फेमा उल्लंघनको यो विषयमा स्ट्याण्डर्ड चार्टर्ड सबैभन्दा अग्रस्थानमा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

स्ट्याण्डर्ड चार्टर्डसहित डच बैंक, बैंक अफ अमेरिका, बैंक अफ टोक्यो मित्सुुबिसी र रोयल बैंक अफ स्कटल्याण्डले पेनाल्टी तिर्नुुपरेको हो ।

आरबीआईले उद्धृत गर्दैै मिडिया रिपोर्टमा जनाइए अनुसार स्ट्याण्डर्ड चार्टर्डसहितका बैंकहरुले फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्ट, १९९९ मार्फत जारी भएको निर्देशनको उल्लंघन गरेका छन् । 

सबैभन्दा धेरै पेनाल्टी स्ट्याण्डर्ड चार्टर्डले तिरेको छ । उसलाई २० हजार भारु जरीवाना लगाइएको हो । त्यसपछि बाँकी सबै बैंकले १० हजार भारुको दरले जरीवाना तिराइएको छ । भारतमा यी बैंकहरुका लागि जरीवाना बापत तिराइएको रकम नगण्य भए पनि यसले ती संस्थाको प्रतिष्ठामा भने ठूलै आँच आउने र जनविश्वास समेत घट्ने मिडियाहरुले दाबी गरेका छन् । 

जरीवाना लगाउनुुअघि स्ट्याण्डर्ड चार्टर्डसहितका बैंकहरुसँग आरबीआईले स्पष्टीकरण सोधेको थियो । ती बैंकहरुले स्पष्टीकरण दिएका थिए । उनीहरुको लिखित स्पष्टीकरणबाट समेत फेमा कानूनमा भएको व्यवस्थाको घोर उल्लंघन भएको पाइएपछि कानून अनुसार पेनाल्टी लगाइएको बताइएको छ ।