काठमाण्डौ । भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ। 

भारतको स्वास्थ्य मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको पुष्टि गरेको छ। भारतको कर्नाटकमा २ जना नयाँ भेरिएन्टबाट संक्रमित भएको पाइएको मन्त्रालयले जनाएको छ। जसमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति छन्। यी दुवैजनाको सम्पर्कमा आएकाहरुको पहिचान गरी कोभिड परीक्षण गर्ने काम भइरहेको बताइएको छ।

मन्त्रालयका अधिकारी लव अग्रवालका अनुसार ती दुवै दक्षिण अफ्रिाकाबाट गत नोभेम्बर २७ मा भारत फर्किएका थिए। ‘उनीहरु ५ दिनदेखि क्वारेन्टिनमा बसेका छन्, उनीहरुमा सामान्य लक्षण देखिएको छ’, अग्रवालले भने।

कर्नाटकका स्वास्थ्यमन्त्रीले सामान्य लक्षण देखिँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘तर, सतर्कता भने अपनाउन आवश्यक छ’, उनले भने।

भारतको नीति आयोगका सदस्य डा वीके पल केही व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि हुँदैमा लकडाउन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘वैज्ञानिक तथ्यहरु अगाडि आएपछि मात्रै लकडाउनका विषयमा निर्णय लिन उचित हुन्छ’, उनले भने।

अहिले विश्वका वैज्ञानिकहरु यो भेरिएन्टका विषयमा थप अध्ययन–अनुसन्धान गरिरहेकोले थप निर्णय लिन केही समय कुर्नुपर्ने पलको भनाइ छ। – एजेन्सी