काठमाण्डौ । भारतको करिब ३० लाख बैंक अकाउण्ट र एटीएमकार्डमाथि साइबर आक्रमण भएको छ ।  यो आक्रमणसँगै त्यहाँ संचालनमा रहेका ७० करोड डेबिट कार्ड प्रयोगकर्तामा आतंक मच्चिएको छ । 
 
बैंकहरुको एटीएम मसिनको माध्यमबाट क्लोनिङ गरी यसैको साहाराले अकाउण्ट ह्याक गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो र डरलाग्दो प्रयास भएको हो । यसले पूरा भारतको बैकिङ सिस्टमलाई नै खतरामा पारिदिएको छ । 

भारतीय अधिकारीहरुले चिनियाँ ह्याकरहरुले यस्तो काम गरेका हुनसक्ने आशंका गरेका छन् । डरलाग्दो गरी अकाउण्ट नै ह्याक हुन थालेपछि भारतभरिका बैंकहरुले आफ्ना ग्राहकहरुलाई एटीएम कार्डको पासवर्ड परिवर्तन गरिरहन सुझाव दिएका छन् । रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले समेत यो विषयमा चासो दिएको छ ।

ह्याक हुने खतराका कारण भारतकै सबैभन्दा ठूलो बैंक एसबीआईले ६ लाख भन्दा बढी एटीएम डेबिट कार्डलाई ब्लक गरिदिएको छ । ब्लक गरिएका ग्राहकलाई सुरक्षित र नयाँ कार्ड वितरण थालिएको छ । 

भारतीय मिडियाहरुको रिपोर्टका अनुसार एसबीआईले एक विज्ञप्ति जारी गर्दै ह्याकको खतरा देखिएपछि केही ग्राहकहरुको एटीएम कार्ड ब्लक गरिएको र ती ग्राहकलाई नयाँ कार्ड वितरण गर्न थालिएको बताएको छ । 

एसबीआईका डेपुटी मेनेजिङ डाइरेक्टर तथा चिफ अपरेटिङ अफिसर मञ्जुला अग्रवालले भनेका छन् कि ह्याकरहरुले जुनसुकै बेला आफ्ना ग्राहकको अकाउण्ट ह्याक गर्ने संभावनाको बिषयमा बैंक व्यवस्थापन सचेत छ । ‘हामी हाम्रा ग्राहकहरुलाई जोखिममा पार्न सक्दैनौ ।’ उनले भनेका छन्–‘यही भएर हामी हाम्रा ग्राहकहरुको अकाउण्ट र कार्ड ब्लक गरी इएमभी कार्ड दिइरहेका छौ ।’ 

बैंकले स्पष्ट पार्दै भनेको छ कि उसको डेबिट कार्ड सिस्टम पूर्ण सुरक्षित छ । उसले यसकारण सतर्कता अपनाइरहेको छ कि भोलिका दिनमा उसका ग्राहकलाई ह्याकरका कारण कुनै हैरानी व्यहोर्न नपरोस् ।

आरबीआईको जुलाई महिनाको डाटा अनुसार भारतमा करिब ७० करोड डेबिट कार्ड संचालनमा छन् । एसबीआईको मात्रै २० करोड डेबिट कार्ड छन् । 

सूत्रका अनुसार २५ देखि ३० लाखसम्मका डेबिट कार्डको डाटा ह्याक भएको आशंका गरिएको छ । यसबाट सबै ठूला बैंकका ग्राहकहरु प्रभावित भएका छन् ।

एसबीआईका एक सिनियर अफिसरलाई हवाला दिंदै मिडिया रिपोर्टमा बताइए अनुसार बैकिङ फ्रड मालवेयरको माध्यमबाट ह्वाइट लेभलको एटीएमबाट भएको पाइएको छ । ह्वाइट लेभलको एटीएम त्यसलाई भनिन्छ, जसमा कुनै पनि बैंकको नाम लेखिएको हुँदैन । जो ग्राहकले यस्तो कार्ड प्रयोग गरेका छन्, तिनीहरुको कार्ड क्लोनिङ हुने डर धेरै रहेको अधिकारीहरुले बताएका छन् । 

केन्द्रीय बैंकको अलर्ट
भारतको केन्द्रीय बैंक आरबीआईले समेत देशका सबै बैंकहरुलाई अलर्ट गराइसकेको छ । उसले सबै बैंकहरुलाई सन् २०१७  जनवरीसम्ममा एटीएम डेबिट कार्डको म्याग्नेटिक स्ट्रिपलाई इवीएम चिपमा कन्भर्ट गर्न निर्देशन दिइसकेको छ । 

यसरी बनौं सुरक्षित
यदि नेपालमा पनि यस्तै भयो भने के गर्ने होला ? विज्ञहरुका अनुसार आफ्नो एटिएम वा डेबिट कार्डमा कुनै गडबडीको आशंका भए तुरुन्तै पिनकोड परिवर्तन गर्नुपर्छ । यदि तपाईंको अकाउण्टबाट यस्तै ठगी भएको छ भने तुरुन्तै बैंकलाई जानकारी दिनुपर्छ । फ्रड भएपछि एटीएम कार्ड ब्लक गर्नुपर्छ । 

मिडिया रिपोर्टका अनुसार यस्तो ह्याक वा कार्डमाथिको खतरा एकदिने इभेन्टहरुमा बढी हुने गरेको पाइएको छ । जस्तै, कुनै प्रदर्शनी, क्रिकेट म्याच, फूटबल, अस्थायी स्टल राखिइने मेला तथा महोत्सवहरुमा एटिएम वा अकाउण्ट ह्याक हुने संभावना बढी रहन्छ । पब्लिक वाइफाईको जथाभावी प्रयोगले समेत तपाईंको अकाउण्ट ह्याक हुने खतरा हुन्छ । तपाईंले आफ्नो डेबिट कार्ड कुनै सपिङ मल वा रेष्टुराँमा प्रयोग गर्दा वेटरलाई नदिनुहोस्, आफैं प्रयोग गर्ने गर्नुहोस् । अनलाइन सपिङ वा भुक्तानी गर्ने समयमा साइबर क्याफेमा नजानुहोस् । आफैले सुरक्षित ढंगले यस्तो पेमेन्ट गर्नुपर्छ ।