नयाँदिल्ली । भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ २७ पैसा र डिजलमा प्रति लिटर ३ रुपैयाँ २१ पैसाको दरले मूल्य घटेको हो । 

मूल्यमा कटौतिपछि भारतको राजधानी दिल्लीमा पेट्रोल ६२.५२ भारुबाट घटेर ६१.०९ भारुमा झरेको छ । यस्तै, डिजलको मूल्य प्रतिलिटर ५४.२८ भारुबाट घटेर ५२.२७ भारुमा आइपुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

नयाँ मूल्यसूचि आइतबार मध्यरातिबाट भारतभरि लागू हुने जनाइएको छ । 

भारतमा जुलाई महिनामा पेट्रोलियम मूल्यमा भएको यो कटौति दोश्रो हो । १६ जुलाईमा पनि पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ ६० पैसा(नेरु) र डिजेलमा प्रति लिटर ६७ पैसा मूल्य कटौति भएको थियो । 

इण्डियन आयल कर्पोरेसनका अनुसार कच्चा तेलको भाउ घटेर भारु बलियो हुँदा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । 

यसअघि भारतमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत नेपालमा भने घटाइएको छैन । नेपाल आयल निगमले स्वचालित मूल्य लागू गरेका कारण भारतमा पेट्रोलियम मूल्यमा कटौति भएपछि अटोमेटिक रुपमा यहाँ पनि मूल्य घटाउनुपर्छ । आइतबार मध्यरातिबाट भारतमा घटेको पेट्रोलियम पदार्थको मूल्यलाई पछ्याउँदै नेपालमा पेट्रोलियम पदार्थको मूल्य समेत घट्छ या घट्दैन आयल निगमले बताइसकेको छैन । तर नेपालले देशका लागि आवश्यक पेट्रोलियम पदार्थ भारतबाटै ल्याउने भएकोले त्यहाँ मूल्यमा कटौति हुँदा नेपाल आयल निगमलाई फाइदा हुनेछ । इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्यसूचि पठाएपछि यहाँ पनि मूल्य घट्न सक्छ ।