काठमाण्डौ । नेपालका लागि पेट्रोलियम आयातको मुख्य गन्तव्य भारतमा पेट्रोल र डिजेलको भाउ फेरि घटेको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रति लिटर भारु १ र डिजेल भारु २ रुपैयाँले घटेको हो । 

मूल्यमा समायोजनपछि दिल्लीमा पेट्रोल भारु ६१.०९ बाट घटेर ६०.०९ मा झरेको छ । यसैगरी, डिजेलको मूल्य प्रति लिटर भारु २ रुपैयाँले घटेपछि अब ५०.२७ भारुमा कारोबार हुने बताइएको छ ।

अगस्ट महिनामा तेल कम्पनीहरुले भारतमा पेट्रोलियम पदार्थको मूल्यमा गरेको यो दोश्रो मूल्य कटौति हो । तेल कम्पनीहरुले जुलाईमा पनि दुईपटक पेट्रोल र डिजेलको मूल्य समायोजन गरेका थिए ।  

इण्डिय आयल कर्पोरेसन(आइओसी)ले कच्चा तेलको मूल्यमा देखिएको गिरावट र डलरसँग भारु मजबुत बन्दै गएपछि पेट्रोल र डिजेलको भाउ घटेको स्पष्ट पारेको छ । 

नेपालमा के होला ?
नेपाल आयल निगमले पेट्रोल र डिजेलको स्वचालित मूल्य प्रणाली लागू गरेको छ । यसको अर्थ नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ आयात गरिने देश(भारत)मा मूल्य घट्ने बित्तिकै नेपालमा पनि घट्नुपर्ने हुन्छ । तर नेपाल आयल निगमले १५ दिनको अवधिमा मूल्य समायोजन गर्दैन । हरेक अंग्रेजी तारिखको अन्तिम दिनको भारतीय बजारको उतारचढाव र त्यसको आधारमा आइओसीले पठाउने मूल्य सूचिका आधारमा निगमले यहाँको पेट्रोलियम मूल्यमा समायोजन गर्ने गरेको छ । यो हिसाबले अगस्टको अन्तिम सातामा हुने भारतीय बजारको घटबढले मात्र यहाँको मूल्यमा तलमाथि हुनसक्ने आयल निगमका एक अधिकारीले बताए ।