काठमाण्डौ । केन्द्र सरकारले अनस्किल्ड कामदारका लागि न्यूनतम ज्याला दैनिक २४६ भारुबाट बढाएर ३५० रुपैयाँ पुर्याइएको घोषणा गरेको छ । तर, यो ज्याला निकै कम भएको भन्दै शुक्रबार देशभरका १० ट्रेड युनियनले हड्ताल आह्वान गरेका छन् । 

यो हड्तालमा देशभरका १८ करोड कामदार र मजदूर सहभागी भएका भारतीय मिडियाहरुले बताएका छन् । त्यहाँका अधिकारीहरुका अनुसार यो हड्तालले एकदिनमा भारतीय  अर्थतन्त्रमा १६ हजार करोडदेखि १८ हजार करोडसम्मको नोक्सानी पुगेको छ । हड्तालबाट बैकिङ, यातायात र उत्पादनमूलक क्षेत्र ठप्प बनेको छ । 

ट्रेड युनियन कोअर्डिनेशन कमिटीका महासचिव एसपी तिवारीका अनुसार १८ करोड मजदूरको हड्तालले भारतको केरेला, उडिसा, आसाम, त्रिपुरा, तेलङ्गना, आन्ध्र प्रदेश, मणिपुर, हरियाणा, पश्चिमबंगाल, महाराष्ट्र, कर्नाटक र उत्तर प्रदेशमा सबैभन्दा बढी प्रभाव देखिएको छ । हरियाणाका केही ठाउँमा हड्तालमा उत्रिएका मजदूरहरुलाई त्यहाँको प्रहरीले हिरासतमा समेत लिएको छ । 

तर, मजदूर हड्तालको असर पञ्जाब, हिमाञ्चल प्रदेश, राजस्थान र छतीसगढमा भने खासै देखिएन । 

किन हड्तालमा उत्रिए मजदूर ?


न्यूनतम ज्याला ३५० भारु बनाउने घोषणाको विरोधमा मजदूरहरु सडकमा उत्रिएका हुन् । उनीहरुले विगत एकवर्षदेखि महंगी अनुसारको न्यूनतम ज्याला तोक्नुपर्ने लगायत १२ वटा माग राखिरहेका छन् । 

मजदूर नेताहरुको अनुसार दैनिक ३५० भारुको न्यूनतम ज्यालाको हिसाब गर्दा महिनाभर विदा बाहेकको दिनमा काम गर्दा मासिक ९ हजार  १  सय भारु हुन आउँछ । ट्रेड युनियनहरुले सेभेन्थ पे कमिसनमा जसरी न्यूनतम तलब मासिक १८ हजार भारु लागू गरिएको छ, अनस्किल्ड मजदूरको न्यूनतम ज्याला समेत मासिक १८ हजार हुने गरी तोकिनुपर्ने माग गरेका छन् । यसको अर्थ मजदूरहरुले सरकारले घोषणा गरेको दैनिक ज्याला ३५० भारुको ठाउँमा ६९२ तोक्नुपर्ने माग गरिरहेका हुन् । मासिक रुपमा मजदूरका लागि न्यूनतम ३ हजार रुपैयाँ अलग्गै पेन्सन कोषमा जम्मा हुनुपर्ने माग पनि युनियनहरुको छ । 

कुन–कुन क्षेत्र बढी प्रभावित भयो ?


मजदूर हड्तालका कारण सबैभन्दा बढी बैकिङ, सडक यातायात, आँगनबाडी, मिड डे मिल सेवा, उत्पादनमूलक क्षेत्र र सरकारी कार्यालयहरु समेत प्रभावित भए । तर, रेल्वे सेवामा हड्तालको असर देखिएन । दूध, पानी सेवा तथा मेडिकल स्टोर्स एशोसिएसनसँग आबद्ध मजदूर समेत हड्तालमा सामेल भएनन् । देशको सबैभन्दा ठूलो मजदूर संगठन भारतीय मजदूर संघ पनि हड्तालमा सामेल छैन । 

भारतीय कम्युनिष्ट पार्टीका महासचिव एस सुधाकर रेड्डीले भने केन्द्र र राज्यमा क्रियाशील ट्रेड युनियनले आह्वान गरेको हड्ताललाई समर्थन गर्ने बताएका छन् । उनले कामदारको माग पूर्ण रुपमा सही भएको र सरकारी रबैया झुक्याउने खालको भएको कडा टिप्पणी समेत गरेका छन् । 

सबै तस्वीर : भारतीय संचारमाध्यम