काठमाण्डौ । कच्चा तेलको मूल्यमा भएको भारी बढोत्तरीसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । 

पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

यो बढोत्तरीसँगै नयाँदिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुुगेको छ ।

यसअघि ३० नोभेम्बरमा त्यहाँ पेट्रोल १३ पैसा महंगो र डिजेल १२ पैसा सस्तो भएको थियो । 

तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र उत्पादक देशहरुको अर्को संगठन नन ओपेकले हालै कच्चा तेलको कटौतिमा भारि कटौतिको निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा मूल्यमा बढोत्तरी भइरहेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर माथि पुगिसकेको छ । भारतका सरकारी तेल कम्पनीहरुले कच्चा तेलको ग्लोबल मार्केटमा बढ्दो मूल्यलाई नै यो पटक घरेलु मार्केटमा मूल्यवृद्धिको कारणको रुपमा प्रस्तुत गरेका छन् । 

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेसँगै जनवरीदेखि नेपालमा समेत मूल्य बढेर आउने निश्चित भएको छ । भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छ । नेपाललाई भने हरेक अंग्रेजी महिनाको सुरुवातमा इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूचि पठाउँछ । 

नेपाल आयल निगमका एक अधिकारीका अनुसार जनवरीको सुरुवातमा आउने मूल्यसूचि बढेर आउनेछ र आयल निगमसँग पनि यसपटक पेटोल र डिजेलको मूल्य वृद्धिको विकल्प छैन । कच्चा तेलको मूल्य बढिरहेका कारण भारतमा अर्को १५ दिन पुनः मूल्य बढ्ने देखिन्छ । दुुईपटकको मूल्यवृद्धिलाई समेट्ने गरी नयाँ सूचि आउँदा नेपालमा जनवरीदेखि पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ५ देखि १० रुपैयाँसम्म बढ्नसक्ने संभावना रहेको अधिकारीहरुले बताएका छन् । 

नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट मात्र आयात हुन्छ ।