काठमाण्डौ । उद्योगी व्यवसायीले नेपालबाट भारततर्फ हुने निर्यातमा निहित गैरभन्सार अवरोधलाई घटाउने, भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न सहजीकरण गर्ने तथा सीमा नाकामा सिर्जना हुने चेक–जाँचलाई छिटोछरिता पार्नेजस्ता कामबाट पनि भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई गतिशील पार्न सकिने सुुझाव दिएका छन् । 

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको स्वागतमा नेपाल उद्योग परिसंघले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारतबाट आउने बल्ककार्गो रक्सौल बाहेक अन्य नाकाबाट पनि आयात गर्ने अवश्यक व्यवस्थाको कुटनीतिक पहल गरिदिन राजदूतलाई आग्रह गरे । 

परिसंघका प्रेसिडेन्ट एमिरेट्स बिनोद चौधरीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ विकसित गर्न दुई सरकारबीचमा मात्र नभई भारतीय सरकार र नेपालको निजी क्षेत्रको बीचमा नौलो ढंगले सहकार्यको अभ्यास हुनुपर्ने, सन् १९९६ को द्विपक्षीय व्यापार सन्धीको मर्मअनुसार नेपाली सामानहरुले निर्वाध ढंगले भारतीय बजारमा प्रवेश पाउनु पर्ने तथा नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा भारतले सहयोग गर्नुपर्ने लगायतका धारणा राखे । 

भारतीय लगानीका बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विगत वर्षहरुमा आकर्षक मुनाफा आर्जन गरी बैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको पुस्ट्याइँ भइसकेको उनको भनाई थियो । नेपालमा जलस्रोत, पर्यटन, होटल, खनिज उत्खनन, कृषि र सेवा क्षेत्रमा भारतीय उद्यमीको लगानी विस्तार गर्न सके दुबै देशको अर्थतन्त्र लाभान्वित हुने विश्लेषण गर्दै चौधरीले राजदूत पुरीको कार्यकालमा यस सम्बन्धमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरेका थिए । 

सो कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ्गकाउन्सिलका सदस्य र राष्ट्रिय परिषद्का सदस्यहरुको उपस्थिति थियो । 

सहभागीहरुको जिज्ञाशा र सुझाव सुनेपछि भारतीय राजदूत पुरीले नेपाल र भारतबीचको ऐतिहासिक एवं आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन प्राप्त सुझावहरुको थप विश्लेषण गरी क्रमशः कार्यान्वयन गर्दै लगिने र यसमा निजी क्षेत्रको समेत सहयोग रहनुपर्नेमा जोड दिए । 

परिसंघका उपाध्यक्ष अनुजकुमार अग्रवालले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्धयामा आयोजित यस कार्यक्रमले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सूक्ष्म रुपमा बुझ्न सहयोग पुर्याएको दाबी गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।