काठमाण्डौ । भारतमा नयाँ वित्त वर्षको पहिलो दिन सोमबार सेयर बजार परिसूचकले ऐतिहासिक उचाई चुमेको छ ।

भारतको सेयर बजार नेपालको भन्दा कान्छो हो ।  

सोमबार कारोबारको दौरान बम्बई स्टक एक्सचेञ्ज(बीएसई)को परिसूचक सेन्सेक्सले ३९११५.५७ को सर्वकालिक विन्दू चुमेको छ । 

त्यहाँको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)बाट ब्याजदर कटौतिका लागि चालिनसक्ने कदमको अपेक्षा र अन्य देशहरुको बजारबाट प्राप्त सकारात्मक सन्देशका कारण सेन्सेक्सले ऐतिहासिक उचाई चुमेको एजेन्सीहरुले दाबी गरेका छन् । 

यो दिन मात्रै सेन्सेक्स १९८.९६ अंकले उक्लिएको थियो । ऐतिहासिक उचाई चुमेको बजार बन्द हुँदा भने केही घटेर ३८८७१.८७ को विन्दूमा सीमित भयो ।

यस्तै, नेशनल स्टक एक्सचेञ्ज(एनएसईं)को ५० वटा कम्पनीका सेयरमा आधारित सूचकांक निफ्टीमा पनि ३१.७० अंकको वृद्धि आयो । निफ्टी परिसूचक भने ११६५५.६० विन्दूमा बन्द भयो ।

३१ मार्चमा समाप्त भएको वित्त वर्ष २०१८ १९ मा सेन्सेक्समा ५७०८ अंक(१७.३० प्रतिशत) र निफ्टीमा  १४.९३ प्रतिशतको वृद्धि भएको बताइएको छ । 

आर्थिक गतिविधिलाई बढावा दिने उद्देश्यले आरबीआईले ब्याजदरमा कटौति गर्ने आशाले त्यहाँका लगानीकर्ताको मनोबल उच्च बनाएको हो।

सकारात्मक विदेशी संकेत तथा घरेलु मुद्रामा आएको मजबुतीले समेत लगानीकर्तालाई उत्साहित बनाएको बताइएको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्ध समाप्तिको आशाले समेत भारतीय सेयर बजारका लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव पारेको दाबी गरिएको छ । 

यो दिन टाटा मोटर्सका लगानीकर्ताले ७.५ प्रतिशतले सम्पत्ति बढाए भने इण्डसइण्ड बैंकका सेयरधनीले सबैभन्दा बढी २.२२ प्रतिशतले सम्पत्ति गुमाए ।