काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बुधबार उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँंग भेटवार्ता गरेको छ । 

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महरासँंग भेटवार्ता गरी मुलुकको आर्थिक गतिविधि तथा आर्थिक कुटनीतिका विषयमा अवगत गरायो ।

सो भेटमा चेम्बरका अधिकारीले दुई छिमेकी मुलुक भारत र चीनबाट ठूला ठूला आयोजनाहरुमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । साथै दुवै छिमेकी मुलुकमध्ये कुनै एउटाको पक्ष नलिई दुवै देशलाई समदुरीमा राखेर नेपाल र नेपालीको हितमा दुवै देशबीच कुटनीतिक सम्वन्ध कायम गर्नुपर्नेमा चेम्बरका अधिकारीहरुले जोड दिएका थिए । 

नेपालले बहुपक्षीय आर्थिक सम्वन्धका बृहद क्षेत्र समेट्ने साफ्टा, विम्स्टेक तथा बीबीआईएनलाई आर्थिक समृद्धि हासिल गर्ने कुटनीतिक माध्यमको रुपमा उपयोग गर्नुपर्ने समेत उनीहरुको सुुझाव थियो । 

सो क्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री महराले दुवै छिमेकी मुलुकलाई समदुरीमा राखेर दुवै देशबाट फाइदा लिने पक्षमा नेपाल रहेको प्रष्ट्याए । यसका लागि आफूले चीनको भ्रमण गरिसकेको र भारत भ्रमणका अवसरमा साफ्टा, विम्स्टेक तथा बीबीआईएनलाई गतिशिल बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै मुलुकको आर्थिक विकासका लागि विदेशस्थित नेपाली नियोगका भूमिकालाई प्रभावकारी रुपमा परिचालन गर्ने रणनीति रहेको समेत उनले व्यवसायीलाई सुनाएका थिए ।