काठमाण्डौ । प्राथमिक बजारमा भारी परिमाणमा निष्कासित हुँदै आएका विभिन्न कम्पनीहरुका आईपीओ र एफपीओको सेयरमूल्यमा कालान्तरमा उत्साह आउन सकेको छैन।

आईपीओ र एफपीओ निष्कासन हुँदाका बेलामा लगानीकर्ताले सोचेको मूल्यभन्दा अत्यन्तै न्यून अंकित मूल्यकै हाराहारीमा आउने बजारको परिपाटीले देखाएको हो। पछिल्लो एक दशकमा बृहत् परिमाणमा निष्कासन भएका आईपीओको दोस्रो बजारमा सेयर खरिदबिक्री हुँदा भने लगानीकर्ताको आशा र वास्तविकता आकाश–धर्तीको फरक हुने गरेको देखिन्छ। 

आईपीओ निष्कासनका क्रममा भने ती कम्पनीहरुमाथि लगानीकर्ताको उच्च विश्वास त देखिन्छ नै एउटा अथाह लहड पनि देखिन्छ। यस्ता भारी परिमाणमा निस्कने आईपीओहरुले सेयर सचेतना फैलाउन मद्दत पनि गरिरहेको हुन्छ भने दोस्रो बजारको विस्तारका लागि द्वारसमेत उघार्ने भएकाले नयाँ लगानीकर्ताको प्रवेश भई बजार विस्तार हुन्छ। 

पछिल्लो एक दशकमा नेपाल टेलिकम, एचआईडीसीएल, अपर तामाकोसी, सान्जेन जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर, शिवम सिमेन्ट नेपाल पुनर्बीमा कम्पनीलगायतका कम्पनीहरुले प्राथमिक बजारमा सेयर निष्कासन गरे। 

नेपाल टेलिकमको एफपीओ न्यूनतम ६०१ मा निष्कासित भएकोमा लिलाम बढाबढमा १५ सय रुपैयाँसमेत खन्याए। लगानीकर्ताको आशा भने सजिलै ३ हजार रुपैयाँ नाघ्ने प्रक्षेपण थियो।

यसैगरी अपर तामाकोसीको सेयरमूल्य पनि सहजै १ हजार नाघ्ने आशा गरेका लगानीकर्ताहरु निराश हुनुपर्यो। 

यस्ता थुप्रै उदाहरणहरु छन्। ‘आईपीओ चाहिँ नलिई नहुने र धेरै मूल्यमा बेच्न सकिने लगानीकर्ताको पुरातनवादी सोच हो तर दोस्रो बजारमा कम्पनीको नेट्वर्थ, आम्दानी, आपूर्तिलगायतका आधारभूत पक्षमा आधारित लगानी हुने हुँदा मूल्य नउचालिएको हो’, बजार जानकार दिलीप मुनकर्मी भन्छन्, ‘स्वार्थमा लोभिँदा मूल्य उचाल्ने जालोमा सोझा लगानीकर्ता फसाउने खेल हुन्छ। सम्भावनालाई उचालेर बजारमूल्य उकासी बिक्री गर्ने बाठा लगानीकर्ताको दाउ हो।’ 

वास्तविक अवस्थाबारे सोच्नबाट बन्चित लगानीकर्ता नै उच्च मूल्यमा फस्ने गर्छन्। कम्पनीको प्रोस्पेक्टसमा ५ वर्षको सम्भावित आम्दानी खर्चको विवरण तुलनात्मक रूपमा हालसम्म मिलान भएको छैन। 

आईपीओ निष्कासनताका कम्पनीले निकाल्ने प्रोस्पेक्टसमा मापदण्डअनुसार मिलान हुने आम्दानी खर्चलाई नै देखाउन प्रयास भइरहँदा नियामक निकायले अनुगमन गरी दण्ड–जरिवाना परिपाटी नहुनुले समेत लगानीकर्ताहरु फस्ने काम भइरहेको जानकार बताउँछन्। नियामकले जिम्मेवारीबाट भाग्दा बाठा उम्कन सघाउ पुगिरहेको छ। 

कम्पनीभित्रका वास्तविक कुरा बाहिर नआउनु, सुशासन तथा पारदर्शिताको अभावले पनि त्यस्ता कम्पनीको सेयरमूल्य कालान्तरमा अंकित मूल्य नजिक भएको विश्लेषकहरुको दाबीसमेत छ।