काठमाण्डौ । आफ्नै पद रहला/नरहला भन्ने द्विविधाका कारण अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रबैैंक ऐनअनुसार नयाँ गभर्नर छनौटको प्रक्रियालाई अगाडि बढाउन सकिरहेका छैनन् । 

गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिँदैछ । नियमअनुसार कार्यकाल सकिनु एकमहिनाअघि गभर्नर विदामा बस्नुपथ्र्यो । तर, सरकारले नयाँ गभर्नर छनौटको प्रक्रिया सुरु नगर्दा र यस विषयमा अर्थमन्त्री समेत आफैं बिलखबन्दमा परी मौन बसिदिंदा डा. नेपालले नै गभर्नरको पद सम्हालिरहेका छन् । 

सरकारको प्रमुख आर्थिक तथा मौद्रिक सल्लाहकारको रुपमा रहने नेपाल राष्ट्रबैंकको नेतृत्व हाँक्ने आकर्षक पदका लागि संभावित अनुहार खोज्ने प्रक्रिया सुरु नभए पनि यसमा इच्छा जाहेर गर्नेहरुको संख्या भने बढिरहेको छ । लामो अनुभव भएका र योग्यहरुले एकपछि अर्को गर्दै भावी गभर्नरमा आफ्नो दाबी पेश गरिरहेका छन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद फागुन २० गतेबाट सकिँदैछ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पुनः राष्ट्रियसभा सदस्यमा मनोनीत गरेमा मात्र उनी अर्थमन्त्रीको रुपमा निरन्तर रहनसक्छन् । यदि पदावधि थपिएन भने उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । राष्ट्रियसभा सदस्यको पदावधि सकिएको ६ महिनासम्म मन्त्रीको रुपमा रहनसक्ने व्यवस्थाको व्याख्या गर्दै उनलाई आगामी बजेट बनाउन दिइनेसम्मको चर्चा समेत हुने गरेको छ । तर, पदावधि नै नथपिएको अवस्थामा उनी नैतिक संकटमा फस्नेछन् र राजीनामा आउनेछ । 

यही अनिश्चयका कारण उनले गभर्नर नियुक्तिको प्रक्रियालाई समेत अन्यौलमा पारेका छन् । उनी आफ्नै पद रहने/नरहने अन्यौलले यस्तो समस्यामा रहे पनि सरकारले नयाँ गभर्नर सकेसम्म चाँडो नियुक्त गर्नुपर्नेछ । यहीकारण केन्द्रीय बैंकको प्रमुख बन्ने दौडधूप सुरु भइसकेको छ । 

को–को छन् आकांक्षी ?
नयाँ गभर्नरको रुपमा धेरै लिइनेमध्ये एउटा नाम हो चिन्तामणि शिवाकोटी । उनी हाल राष्ट्रबैंकका वरिष्ठ डेपुटी गभर्नर पनि हुन् । डेपुटी गभर्नर बन्दा पनि उनले धेरै वरिष्ठ कार्यकारी निर्देशकहरुलाई पछाडि पारेका थिए । केपी ओलीसँगको निकट सम्बन्ध भएका कारण केही वरिष्ठहरुलाई पाखा लगाउँदै उनलाई डेपुटी गभर्नर बनाइएको थियो । त्यो घटनालाई जोडेर हेर्नेहरुले आगामी गभर्नर चिन्तामणि शिवाकोटी नै हुने ठोकुवा गरिरहेका छन् । उनले समेत प्रधानमन्त्री निवास बालुवाटारको दौडधूपलाई तीव्र बनाएका छन् । 

विद्यार्थीकालदेखि नै एमालेनिकट रहेर काम गरेका पार्टीका लामो समयदेखिका पूर्णकालीन कार्यकर्ता समेत रहेका कारण शिवाकोटीलाई नै प्रधानमन्त्रीले गभर्नर बनाउनसक्ने आँकलन समेत बजारहरुमा सार्वजनिक हुन थालेका छन् । शिवाकोटी स्वयम्ले समेत पार्टीमा लामो समयदेखि योगदान गर्ने मामलामा आफू अरु आकांक्षीभन्दा अब्बल रहेको भन्दै आगामी गभर्नरमा आफ्नै दाबी रहने बताउँदै आएका छन् । 

केही दिनअघि उनले एउटा पुस्तक प्रधानमन्त्रीकै हातबाट विमोचन गराए । सो कार्यक्रममा प्रधानमन्त्रीले शिवाकोटीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सोही कार्यक्रमबाट प्रधानमन्त्रीले गरेको प्रशंसाबाट उत्साहित भएका शिवाकोटीले राजनीतिक दौडधूपलाई तीव्र पारेका छन् । प्रधानमन्त्रीबाट आफूलाई ‘ग्रीन सिग्नल’ आएको ठान्ने उनले नेकपाभित्रकै अन्य शक्तिकेन्द्रहरुसम्मको दौडधूप पनि जारी राखेका छन् । तर, प्रधानमन्त्रीले हालसम्म उनलाई प्रष्ट रुपमा आगामी गभर्नरमा नियुक्तिको वचन दिइसकेका छैनन् । 

गभर्नरको यो दौडमा अर्को संभावित नाम हो महाप्रसाद अधिकारी । उनी नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल लगानी बोर्डको सीइओको रुपमा कार्यरत उनले समेत गभर्नरका लागि दौडधूप सुरु गरिसकेका छन् । उनको शालीन तथा भद्र व्यक्तित्व, परिपक्व व्यवहार तथा लामो अनुभव लगायतलाई आधार बनाउँदै अबको गभर्नर अधिकारी नै हुने आँकलन गर्नेहरु पनि कम छैनन् । 

कतिपयले त शिवाकोटीको तुलनामा अधिकारी परिपक्व रहेका र उनैलाई राष्ट्रबैंकको नेतृत्व दिंदा सही हुनेसम्मको तर्क राख्न भ्याएका छन् । तर, कतिपयले भने लगानी बोर्डको सीइओको रुपमा अवसर पाइसकेका अधिकारीलाई नै फेरि पनि अवसर दिन नहुने र पार्टीभित्रै राम्रो योगदान गर्नेहरुको विषयमा पनि सोचिन आवश्यक रहेको तर्क गरिरहेका छन् । 

गभर्नरको रेसमा केही पछि इन्ट्री भएको नाम हो राष्ट्रबैंकका संचालक डा. सुबोधकुमार कर्ण । बैंकिङ विषयमै पिएचडी गरेका उनी राष्ट्रपतिसँग निकट छन् । शितल निवासमा उनको दौडधूप पछिल्लो समय निकै बाक्लिएको छ । यसले समेत उनी पनि गभर्नरको प्रवल दाबेदार हुन् भन्ने विश्लेषण हुन थालेको छ । 

तत्कालीन माओवादी अध्यक्ष तथा हालका नेकपाका अध्यक्ष प्रचण्डसँग निकट मानिने डा. मिनबहादुर श्रेष्ठलाई समेत संभावित गभर्नरको अर्को बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । उनी प्रचण्ड प्रधानमन्त्री भएको बेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । यदि नेकपाभित्रको भागबण्डामा गभर्नरको कोटा पूर्व माओवादीको पोल्टामा परेमा डा. श्रेष्ठ नै गभर्नर हुने निश्चित रहेको स्रोत दाबी गर्छ । तर, पूर्व माओवादीले हालै सभामुख पद पाइसकेकोले अबको अर्थमन्त्री र गभर्नर पूर्व एमालेकै कोटाबाट आउने स्रोतहरु बताउँछन् । यस्तो भयो भने डा. श्रेष्ठको संभावना न्यून हुनेछ । 

अर्थमन्त्रीको रुपमा डा. खतिवडाको निरन्तरता भयो भने उनले गभर्नरको रुपमा ल्याउन चाहेका व्यक्ति हुन् राजन खनाल । अर्थसचिवबाट अवकाश पाएका खनाललाई गभर्नर बनाउने इच्छा खतिवडाले औपचारिक÷अनौपचारिक भेटघाटहरुमा व्यक्त गरिसकेका छन् । राजन खनाललाई पछिल्लो समय प्रधानमन्त्रीको समेत आशिर्वाद प्राप्त हुनसक्ने विश्लेषण समेत गर्न थालिएको छ । 

निकै पछि गभर्नरको रेसमा इन्ट्री भएको अर्को दमदार नाम हो किरणकुमार श्रेष्ठ । उनी हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । यो संस्थामा उनको पदावधि पनि चैतमा सकिँदैछ । तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रको अनुभवप्राप्त श्रेष्ठले नेतृत्व गरेपछि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कायापलट भएको छ । उनले सरकारी स्वामित्वको बैंकलाई निजी क्षेत्रबाट संचालित भन्दा सवल बनाइदिएका छन् । उनको यो काम र प्रदर्शनबाट सरकार खुशी छ । प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष सम्बन्ध राख्नसक्ने हैसियत भएका कारण उनले समेत गभर्नरको रेसमा बाजी मार्नसक्ने संभावना देखिएको छ । लामो समयदेखि पार्टीसँग समेत नजिक रहेर काम गरेका, परिपक्व र शालीन व्यक्तित्व तथा सबैलाई रिझाएर अगाडि बढ्नसक्ने खुबी भएका कारण पनि श्रेष्ठ अन्तिम समयमा प्रधानमन्त्रीको रोजाईमा पर्नसक्ने संभावना समेत रहेको स्रोत दाबी गर्छ । 

श्रेष्ठले पनि लामो कार्यानुभवका आधारमा आफूलाई गभर्नरको संभावित उम्मेद्वारको रुपमा आफ्ना निकटस्थहरुसँग आफ्नो दाबी प्रस्तुत गर्न थालिसकेका छन् । संभावित गभर्नरको चर्चा चलेको लामो समयपछि एकाएक श्रेष्ठको नाम इन्ट्री भएको विषयलाई धेरैले ‘अर्थपूर्ण’ रुपमा पनि हेरेका छन् । 

गभर्नरको रेसमा संभावित उम्मेद्वारको रुपमा हेरिएका अर्का पात्र हुन् डेपुटी गभर्नर शिवराज श्रेष्ठ । तर, छानबिनको डण्डा चलाइसकेपछि उनको आत्माविश्वास कम भएर गएको राष्ट्रबैंक स्रोतले जनाएको छ । गभर्नरका लागि सिफारिस गर्दा अर्थमन्त्रीले २ डेपुटीमध्ये एकजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । त्यो एउटा नाम चिन्तामणिकै हुने बुझेका शिवराज श्रेष्ठले प्रधानमन्त्री पत्नी राधिका शाक्यतर्फको सम्बन्धबाट केही गर्नसक्ने संभावना न्यून छ । किनभने उनीमाथि लागेको गम्भीर आरोपबाट सफाई पाउनुलाई नै उनले राधिका शाक्यको तर्फबाट आफूमाथि लगाइएको ठूलो गुण सम्झिएका छन् । कमजोर आत्मविश्वासका कारण उनी यो रेसमा खरो उत्रिने संभावना कम छ । डेपुटी गभर्नर हुँदा समेत कांग्रेसको कोटाबाट आएका उनको राजनीतिक लाइन मिल्दैन, यसले समेत उनको आत्माबल कमजोर बनेको स्रोत बताउँछ । 

यसरी हेर्दा समग्रमा गभर्नरका लागि सिफारिस समितिको संयोजकको रुपमा रहने अर्थमन्त्रीको टुंगो लागेपछि मात्रै रेसमा को बलियो हुन्छ भन्ने कुराको प्रष्ट तस्विर आउन सक्ला । नेकपाभित्रबाट प्रधानमन्त्रीमा केपी ओलीकै विकल्प खोज्ने प्रयास भइरहेको बेला भावी अर्थमन्त्री र त्यसपछि राष्ट्रबैंकमा आउने गभर्नरको विषयमा अहिले नै ठोकुवा गरेर भन्न सकिने अवस्था छैन ।