काठमाण्डौ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको एयरलाइन्स कम्पनी भिस्ताराले हिजो मंगलबारबाट दिल्ली–काठमाण्डौ दैनिक उडान शुभारम्भ गरेको छ।

भिस्ताराले काठमाण्डौलाई आफ्नो पाँचौँ अन्तर्राष्ट्रिय उडानको गन्तव्य बनाएको हो। भिस्ताराले काठमाण्डौमा गरेको पहिलो उडानमा आएका यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो। 

भिस्ताराका चिफ कमर्सियल अफिसर विनोद कन्ननले नेपालमा उडान शुभारम्भ गर्न पाउँदा निकै खुसी लागेको बताए। उनले भारतकै पाँचतारे यो एयरलाइन्सबाट नेपाल जाने र आउने यात्रुले अभूतपूर्व सेवा पाउने दाबी पनि गरे।

भिस्ताराको आधिकारिक वेबसाइट, मोवाइल एप र विभिन्न ट्राभल एजेन्सीमार्फत यो एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भिस्ताराका कार्यकारी प्रमुख लेस्ली थिङ्अले भारतसँग सदियौंदेखि व्यापारिक र सांस्कृतिक सम्बन्ध रहेको राष्ट्रको प्रवेशद्वार मानिने काठमाण्डौमा आफ्नो सेवा विस्तार गर्न पाउँदा हर्षित भएको बताए। नेपाल सरकारद्वारा भ्रमण वर्षको अभियानमा समेत आफ्नो कम्पनीको सेवा बिस्तारले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो।

भारतभित्र आन्तरिक विशाल सञ्जाल भएको भिस्ताराका सेवाग्राहीहरुले एक स्थानबाट बेंगलुरु, चेन्नई, हैदरावाद, मुम्बई र पुनेदेखि अन्य सहरमा सजिलै उडान गर्न सक्नेछन्। 

भिस्तारा स्काईट्रयाक्स/ट्रिप एड्भाइजरमा भारतको सवैभन्दा बढी पटक खोजिएको हवाईसेवा हो र विभिन्न बेस्ट एयरलाइन पुरस्कार विजेता हवाई सेवा हो। पाँच वर्षको छोटो समयमा नै यसले भारतीय हवाई उडानको क्षेत्रमा उत्कृष्ट हवाई यात्राको मापदण्ड तर्जुमा गरेको बताइएको छ।

कति छ भाडादर ?

यो एयरलाइन्सको भाडादर पनि निकै सस्तो प्रस्ताव गरिएको छ। दिल्ली-काठमाण्डौ-दिल्ली उडानको भाडादर भारु ९९९९(सस्तोमा) र व्यवसायिकमा ३९९९९ भारु निर्धारण गरिएको छ। 

काठमाण्डौ-दिल्ली-काठमाण्डौ रुटको भाडादर भने सस्तोमा १६ हजार ९९९ रुपैयाँ र महंगो(व्यवसायिक)मा  ६१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।