काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई ग्राहक हितमा ध्यान दिन निर्देशन दिएको छ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार ग्राहक हित संरक्षण, जोखिम व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी ३ वटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भुक्तानी कारोबार बढ्दै गएकाले भुक्तानी सेवाप्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर/पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सिस्टम अपरेटर पीएसओ) लाई नियमनको दायरामा ल्याउन भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा थप व्यवस्था गर्दै उक्त निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।
अब भुक्तानी सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई सुरक्षित कारोबारबारे सचेतना गर्नुपर्ने, सम्मानजनक व्यवहार गर्नुपर्ने र सरल तथा स्पष्ट भाषामा सेवा शुल्क, सर्तहरू तथा कारोबार सञ्चालनको प्रक्रियाबारे जानकारी दिनुपर्नेछ। कम्पनीको लापरबाहीले सेवाग्राहीलाई क्षति भएमा उचित क्षतिपूर्ति दिनुपर्ने, कामको जिम्मेवारी वहन गर्नुपर्ने, सेवाग्राहीको सूचना तथा विवरणको गोपनीयता कायम गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।
विद्युतीय भुक्तानी प्रणालीको साक्षरता बढाउन र यसको प्रवरद्र्धनलाई सहयोग पुग्ने विज्ञापन तथा सूचना प्रोत्साहन गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ। भुक्तानीका क्रममा देखिने सञ्चालन जोखिम, तरलता जोखिम र व्यवसाय जोखिमलगायतलाई पहिचान गरेर जोखिम व्यवस्थापनका पर्याप्त नीति तथा कार्यविधि ल्याउन परिपत्रमा भनिएको छ।
यसैगरी यस्ता कम्पनीको संस्थागत सुशासनअन्तर्गत सञ्चालकले कार्यभार सम्हाल्नुभन्दा पहिले आफ्नो संस्थासँग वित्तीय स्वार्थ भए नभएको विषयमा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउनुपर्नेछ। सञ्चालकले आफ्नो संस्थाको व्यवस्थापकीय कामकारबाहीमा हस्तक्षेप गर्न मिल्ने छैन भने सञ्चालक प्रत्क्षय वा अप्रत्यक्ष रुपमा आफ्नो संस्थाको हितविपरीत हुने कुनै पनि किसिमको गतिविधिमा संलग्न हुन नहुने परिपत्रमा निर्देशन दिइएको छ।
यस्तै राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को अनुमतिपत्रप्राप्त संस्थाको कुनै पनि पदाधिकारी रहन नपाउने व्यवस्था पनि संशोधित निर्देशकामा व्यवस्था गरिएको छ। सञ्चालकले संस्था सम्बद्ध कारोबारको सूचनाहरुको गोपनीयता कायम गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकबाट २८ वटा भुक्तानी सेवा प्रदायकले अनुमति पाइसकेका छन्। हाल १० वटा भुक्तानी प्रणाली सञ्चालक संस्था सञ्चालनमा छन्।
4 minutes ago
15 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago