काठमाण्डौ । भूतप्रेतको हल्लाकै कारण दुनियाँका कतिपय व्यवसाय ठप्प छन् । भूतप्रेत देखिएका, महसुुस भएको, तर्साएको जस्तो हल्ला फैलँदा विश्वका कतिपय महल, बंगला तथा होटेलहरु समेत सुनसान भएका छन् । तिनीहरुको व्यापार, त्यहाँ मानवीय चहलपहल शून्यप्राय हुने गरेको छ । तर विश्वमा केही यस्ता होटल पनि छन्, जहाँ भूतप्रेतका कारण मानिसमा हुने डरले व्यापार खूब जमेको छ । मानिस त्यहाँ जान होइन, भूतप्रेत देखिने होटलमा रात बिताएर अद्भूत अनुभव गर्न चाहँदा ती होटेलहरुको व्यापार निकै बढेको छ । विश्वमा आत्मा खेलिरहने, भूतप्रेत डूलिरहने यस्ता केही होटल छन्, जहाँ रात बिताउन मात्र लामो लाइनमा उभिएर टिकट काट्नुपर्छ र भनेकै बेला स्थान पाउन मुश्किल छ । बिजशाला डटकमले केही अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा त्यस्ता पाँच होटलको बिषयमा विशेष सामाग्री तयार पारेको छ । 

स्ट्यान्ले होटल, अमेरिका
द टेलिग्राफको रिपोर्ट अनुसार अमेरिकाको कोलोराडो राज्यमा अवस्थित स्ट्यान्ले होटल विश्वकै सबैभन्दा ‘हन्टेड होटल’को रुपमा चर्चित छ । सन् १९०७ मा यसको निर्माण सम्पन्न भएसँगै योसँग जोडिएर अनेकन कहानीहरु चर्चामा आए । यहाँ आउने पाहुना तथा होटलमा कार्यरत कर्मचारीले यहाँ बच्चाको आवाज सुनिएको, होटलका मालिकको आत्मा समेत देखिएको दाबी अहिले पनि गर्ने गर्छन । तर हालसम्म भूतप्रेत वा आत्माको कारण कुनै क्षति भएको छैन । यो होटल आफ्नो वरपरको सुन्दर वातावरण र उत्कृष्ट सेवाका कारण पनि निकै चर्चित छ । स्ट्यान्ले होटल कति चर्चित छ भन्ने कुुरा सन् २०१५ को एउटा आँकडाले देखाउँछ । यो वर्ष यो होटलमा ४ लाख ३० हजार पाहुना आएका थिए । अमेरिकाका अन्य होटलहरुको अक्यूपेन्सी रेट ६५ प्रतिशत रहेको छ, तर यो होटलको अक्यूपेन्सी रेट ७२ प्रतिशत छ । यसको अर्थ, यो होटलका कोठा अन्य होटलको तुलनामा बढी भरिभराउन हुने गर्छन । 

ओटल्याण्ड होटल, ब्रिटेन


इङ्ग्ल्याण्डको दक्षिण–पूर्वमा अवस्थित यो होटलको बिषयमा समेत भूतप्रेतकै कहानी चर्चित छ । ब्रिटेनको स्थानीय रग्बी टिमका सदस्यहरुले यो होटलमा रात बिताउने क्रममा केही अनौठा घटना भएका वा देखिएको भन्दै उजुरी गरेका थिए । कर्मचारीका अनुसार यो होटलमा काम गर्ने एक महिलाले केही समयअघि आत्महत्या गरेकी थिइन् । उनीहरुका अनुसार ती महिला अझै होटल आसपास आत्माको रुपमा देखा पर्ने गरेकी छिन्, तर ती महिलाको आत्माले हालसम्म कुनै पनि पाहुनालाई दुःख भने दिएको छैन । यो महल बनाउने राजाको छायाँ समेत बेला–बेला देखिने गरेको कर्मचारीहरु दाबी गर्छन् । यो होटलमा यस्ता अनेकन भूतप्रेतका कहानीहरु जोडिएका छन्, तर यही होटल आसपासको भन्दा बढी चर्चित छ । यो होटलले अन्यको तुलनामा व्यापार समेत निकै नै गर्ने गरेको छ । यो होटल फोर स्टार हो । २०१५ को रग्बी वल्र्डकपका लागि खेलाडीहरुको टिमलाई केही चुनिएका होटलहरुमा बस्ने व्यवस्था मिलाइएको थियो, त्योमध्ये यो होटल पनि एक थियो । 

सेवोइ होटल, मसुरी भारत


भारतस्थित हेरिजेट क्लासको यो होटलसँग जोडेर समेत भूतप्रेतका अनेकन कहानीहरु बनेका छन्, चर्चित छन् । यो भारतको सबैभन्दा धेरै डरलाग्ने होटलमध्येको एक हो । तर पनि मानिस यो होटलमा जान र भूतप्रेतको अनुभूत गर्न चाहन्छन् । यिनै कहानीका कारण समेत कयौं पर्यटक यो होटलमा बस्न रुचाउँछन, मरिहत्ते गर्छन् । सन् १९११ मा यो होटल क्षेत्रमा एक महिलाको हत्या भएको थियो । त्यसपछि यो होटलसँग जोडेर अनेकन कहानीहरु बनाइएका छन्, अनेकन दाबीहरु बाहिर ल्याइएका छन् । यही होटलको भूतप्रेतको कहानीले चर्चित लेखिका अगाथा क्रिस्टीलाई एउटा उपन्यास ‘मिस्टेरियस अफेयर्स एट स्टाइल्स’,  रस्किन बण्डलाई ‘इन ए क्रिस्टल बाल–अ मसुरी मिस्ट्री’ लेख्नलाई प्रेरित गरेको बताइन्छ । भूतप्रेतका यस्ता डरलाग्दा कहानीका बाबजुद आसपासको निकै सुन्दर दृश्य र आफ्नो उत्कृष्ट सेवाका कारण यो होटलले निकै धेरै पर्यटकलाई आकर्षित गर्न सफल भइरहेको छ । यो एउटा सुविधासम्पन्न होटल हो, जहाँ एकरात बिताउन तपाईंले कम्तीमा पनि ८ हजार भारु तिर्नुपर्छ । यो होटलका कोठाहरु निकै धेरै दिनअघिदेखि नै बुकिंङ भइसकेका हुन्छन्, आजै गएर आजै कोठा पाउन मुश्किल छ । 

रसेल होटल, अस्ट्रेलिया


द टेलिग्राफका अनुसार अस्ट्रेलियाको सिंड्नी शहरको रसेल होटल परलौकिक घटनालाई लिएर यति धेरै चर्चित छ कि, कर्मचारीहरु यो होटलमा ‘घोस्ट टूर’ कार्यक्रम आयोजना गर्ने गर्छन् । यो टुरको दौरान कर्मचारी होटलमा आउने पर्यटकहरुलाई होटलको निकै डरलाग्दो भूतप्रेतको कहानीको इतिहास बताउने गर्छन् । होटलका कर्मचारीका अनुसार यो होटलको ८ नम्बर कोठामा एक पुराना नाविकको आत्मा रहेको छ । पर्यटकहरुले समेत यो होटलमा बस्दा शानदार र अलौकिक अनुभव भएको बताउने गर्छन् । यो होटलमा समेत निकै ठूलो भीडभाड लाग्ने गर्छ । 

रुजवेल्ट होटल


यो होटल अमेरिकाको लसएञ्जल राज्यमा  छ । यहाँ सन् १९२९ मा पहिलोपटक एकेडेमी अवार्ड कार्यक्रमको आयोजना भएको थियो । यो होटलमा मर्लिन मुनरो समेत बसिसकेका छन् । यहाँका पर्यटक तथा कर्मचारी मुनरो बसेको सूइट्स रुममा रहेको एउटा लामो सिसामा सुनले ढाकिएकी एक युवतीको छायाँ देखिने गरेको बताउँछन । उनीहरु पुलसाइड नजिक बनेको नाइटक्लबमा पनि त्यही युवतीलाई देख्ने गरेको बताउँछन । यसको कोठानम्बर ९२८ मा पनि आफ्नो समयका एक चर्चित हलीवुड एक्टर अझै पनि त्यही देखिने गरेका कुराहरु समेत बाहिर आउने गरेका छन् । यो होटलमा हाल ३ सय कोठाहरु छन्, तर भूतप्रेतकै कहानीका कारण चर्चित यो होटलका कुनै पनि कोठाहरु प्रायः खालि हुँदैनन् ।