काठमाण्डौ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। 

उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरुमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन्। महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराधिक’ भएको बताउँदै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए। उनले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि बताए।

बाँकेका प्रजिअ गेलालले घटनामा संलग्न तीनजनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए। घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।